कैलाशको डाँफे-मुनाल पार्कमा हुने ‘सोनाम ल्होछार मेला’ को तयारी पुरा

तामसालिङ खबर
५ माघ २०७९, बिहीबार १९:४३

माघ, हेटौडा (कैलाश) – मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ स्थित वैकुण्ठको डाँफे-मुनाल पार्कमा यहि माघ ८ गते हुने ‘सोनाम ल्होछार विशेष सांस्कृतिक मेला’ को सम्पूर्ण तयारी पुरा भएको छ । तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व २८५९ ह्याेइ/तावार (बिरालो बर्ग) सोनाम ल्होछारको अवसरमा आयोजित ल्होछार मेलाको तयारी पुरा भएको वडाध्यक्ष राजेन्द्र घिसिङले जानकारी दिनुभयो ।

ल्होछार साँस्कृतिक मेलामा नेपाल लोकस्टार रामकुमार नेपाली, लोकदोहोरी गायिका प्रतिमा अर्याल, सेलो गायक योगेश लामा, लोकदोहोरी गायिका सुमन थापा मगर, लोकदोहोरी गायक श्याम राना, सेलो गायिका रजनी लामा लगायत थुप्रै राष्ट्रिय स्तरका कलाकारहरूको गायन तथा बेजोड नृत्य प्रस्तुति रहने आयोजकले जनाएको छ ।

मेलामा स्थानीय तामाङ समुदायको संस्कार र संस्कृति सँग सम्बन्धित लामा, बोम्बो लगायतको विशेष झाँकीको प्रस्तुतिका साथै स्थानीय स्तरका कलाकारहरूको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । ग्रामीण पर्यटनको प्रवर्द्धन, स्थानीय तामाङ संस्कार संस्कृति, भाषा, भेषभुसा र कलाको संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले मेलाको आयोजना गरिएको छ ।

तामाङ समुदायकाे बाहुल्यता रहेको उक्त क्षेत्रमा पहिलो पटक मेला हुन लागेको हो । धादिङ र मकवानपुरलाई लक्षित गरेर पार्कमा मेलाको आयोजना गरिएको वडाध्यक्ष घिसिङले जानकारी दिए । मेलामा स्थानीय खानपानको स्टल रहने छ । मकवानपुरको उत्तरी भेग र धादिङको दक्षिणी भेगका स्थानीय समुदायको व्यापक सहभागिता रहने अपेक्षासहित मेलाको आयाेजना गरिएकाे जनाएको छ । कैलाश गाउँपालिकाका अध्यक्ष लाेक बहादुर माेक्तानले मेलाकाे उद्घाटन गर्ने भएका छन् ।

पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गरेको डाँफेमुनाल पार्क धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १ र कैलाश गाउँपालिका वडा नम्बर २ को सिमानामा पर्दछ । पार्क सँगै रहेको कुण्डमा गुरु रिम्पोछेको विशाल मूर्ति पनि स्थापना गरिएको छ । कैलाश गाउँपालिका र वडा नम्बर २ ले सो क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले पार्क र मूर्तिको स्थापना गरेका हुन् । वैकुण्ठको दुर्सागङ (चिहान डाँडा) भनेर चिनिने महाभारत पर्वत रेन्जमा पर्ने डाँडा अहिले डाँफे-मुनाल पार्कको नामबाट पर्यटकमाझ चिनिन थालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*