तामाङ भित्तेपात्रो र वेबसाइट शुभारम्भ
माघ, काठमाडौं – संसारभर छरिएर बसेका तामाङहरुको छाता संगठन अन्तराष्ट्रिय तामाङ परिषदद्धारा तामाङ भित्तेपात्रो सार्वजनिक र वेबसाइट शुभारम्भ गरेका छन् ।
परिषदका संस्थापक अध्यक्ष पर्शुराम तामाङको प्रमुख आतिथ्यमा पत्रकार सम्मेलन गरी मन्जुश्री सम्वत तथा चन्द्रपात्रो अनुसार तामाङ भित्तेपात्रो सार्वजनिक गर्नुको साथै डिजिटल माध्यमबाट वेबसाइट समेत शुभारम्भ गरेका छन् ।
कार्यक्रममा अन्तराष्ट्रिय तामाङ परिषदका बरिस्ठ उपाध्यक्ष टसी लामा, ताम्सालिङ संघर्ष समितिका अध्यक्ष जय प्रकाश गोले, भाषा आयोगका सदस्य अमृत योन्जन, डा.मुक्त सिं, दावा दोर्जे तामाङ लगायत तामाङ समुदायका विशिष्ट व्यक्तित्वहरु सहभागी रहेको थियो ।
स्वागत मन्तव्य राख्ने क्रममा टासी लामाले चौथौं सम्मेलन मार्फत आफुहरुलाई दिएको जिम्मेवारी पूर्णरुपमा बहन गर्ने क्रममा रहेको र यस पटक परिषदको सम्पूर्ण निर्णयहरुलाई दस्तावेजिकरण गर्ने र विश्वव्यापी रुपमा छरिएर बसेका तामाङहरुले सहज रुपमा तामाङ परिषदको गतिविधि जानकारी दिने उदेश्यले वेबसाइट सार्वजनिक गरेको बताए ।
पत्रकार सम्मेलनमा प्रमुख अतिथि तामाङले अबको अन्तराष्ट्रिय तामाङ परिषद कुनै विधि विधानमा मात्रै अल्झिनु भन्दा उपलब्धिमूलक एक्सनमा उत्रिनु पर्ने र पुनः एक पटक सांस्कृतिक पुर्णरजागरण अभियान संचालन गर्नुपर्ने धारणा राखेका छन् ।






