रवि लामिछानेले पाए, पुन:नेपाली नागरिकता
माघ, काठमाडौं – रवि लामिछानेले नेपाली नागरिकता प्राप्त गरेका छन् । आवश्यक प्रक्रिया पूरा गरेर लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्राप्त गरेका हुन् ।
आइतबार बिहान सुरक्षाकर्मी सहित लामिछाने नागरिकता पुन: प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय पुगेका थिए। शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गरेको थियो । सर्वोच्चको आदेश पछि लामिछानेको सांसद र मन्त्री पद दुवै गुमेको थियो ।
लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए । नागरिकता विवादमा आएपछि उपप्रधान एवं गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिएका छन्। गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ।
कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकता सम्बन्धी फैसला गरेको हो ।
लामिछानेको नागरिकता माथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए । गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा लामिछाने चितवत २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।






