अब ७० अंक ल्याए, बागमतीमा ट्रायल पास हुने
फाल्गुन, हेटौँडा – बागमती प्रदेशमा फागुन २ गतेबाट सवारी चालक अनुमति पत्र (लाईसेन्स) को लागि ७० अंक ल्याएपनि ट्रायल पास हुने मापदण्डको सुरुवात भएको छ ।
आज बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री एकलाल श्रेष्ठले ७० अंक तय गरिएको मापदण्डको शुभारम्भ गरेका छन् । काठमाडौंको गुर्जुधारामा रहेको ट्रायल सेन्टरबाट मन्त्री श्रेष्ठले नयाँ मापदण्डको शुभारम्भ गरेका छन् ।
सवारी चालक अनुमति पत्रको लागि उर्तीण हुनक लागि १०० नम्बरमा १०० नम्बर नै ल्याउनुपर्ने व्यवस्था अवैज्ञानिक तथा अव्यवहारिक रहेको भन्दै मन्त्रालयले आजबाट यो व्यवस्था लागू गरेको हो ।
कुनैपनि परिक्षामा सत्प्रतिशत अंक ल्याउँदा मात्र उर्तिण हुन पाउने व्यवस्था निकै अव्यवहारिक रहेको र यस्ले समग्र यातायात क्षेत्रलाईनै समस्यामा पार्ने देखिएपछि आफुले मन्त्रालयमा कार्यभार सम्हालेदेखि ७० अंकको विषयलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाएको र सोहि अनुसार मंगलबारबाट यो प्रणालीको सुरुवात गरेको मन्त्री श्रेष्ठको भनाई रहेको छ ।
सानो त्रुटिमा पनि फेल गराउदा लाइसेन्स वितरणमा ढिलाई हुनुको साथै चालकहरुले अवैधानिक रुपमा लाइसेन्स निकाल्ने प्रकरण बढेको देखिएपछि आफुहरुले नयाँ व्यवस्था लागु गरेको मन्त्री श्रेष्ठको भनाई रहेको छ । मन्त्री श्रेष्ठले भने ‘अब सानोतिनो गल्ति गर्दैमा सवारी चालक अनुमति पत्रको लागि पुनः ट्रायल दिनुपर्ने समस्याको समाधान भएको छ, यो व्यवस्थाले सवारी चालक अनुमतिपत्रको सन्र्दभमा हुँदै आएका समस्यालाई न्यूनिकरण गर्दै जाने विश्वास लिएको छु ।’
बागमती प्रदेशमा रहेका ११ वटा यातायात ब्यवस्था कार्यालय मध्य सवारी चालक अनुमती प्रदान गर्ने सम्पूर्ण सेवाकेन्द्रहरुले एकैपटक मंगलबारबाट ७० अंकमा ट्रायल पास हुने व्यवस्था गरेका छन ।






