थाहामा सामाजिक सुरक्षा कोष सम्बन्धि अन्तरक्रिया
फाल्गुन, हेटौडा (थाहा नगर) – थाहा नगर क्षेत्रमा रहेका उत्पादन मुलक उद्योग, पर्यटन उद्योग, स्वास्थ्य तथा शैक्षिक संघ संस्था तथा सहकारीसँग आवद्ध संंचालक तथा व्यवस्थापकहरुका लागि पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा सामाजिक सुरक्षा कोषको समन्वयमा सामाजिक सुरक्षा कोष सम्वन्धी अन्तरकृया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक सुरक्षा कोषका उपनिर्देशक एवं सह प्रवक्ता रोहित रेग्मीले सामाजिक सुरक्षा कोषका निती, नियम तथा प्रावधान र यसको महत्वका बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो साथै सहभागीहरुले राखेका विभिन्न जिज्ञासा माथि प्रस्ट पार्नुभएको थियो ।
रेग्मीले योगदानमा आधारित सामाजिक सुरक्षा कोष आयको निरन्तरताको सुनिश्चितता भएको उल्लेख गर्नुभयो । उहाँले श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्नु कोषको उद्देश्य रहेको बताउनुभयो ।
यस्तै सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरुको आर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्ने, हरेक नागरिकको मौलिक अधिकारका रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष स्थापित गरिनुपर्ने लगायतका कुराहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।
सामाजिक सुरक्षा कोष ऐनले औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजनालाई प्राथमिकता दिएको छ । यस्तै आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्नेछ भनी कोषले सञ्चालन गर्न सक्ने सामाजिक सुरक्षा योजनाहरूको दायरा किटान गरिएको रेग्मीले बताउनु भयो ।
कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै आयोजक संस्थाका अध्यक्ष उमेश प्रसाद ढकालले हामी विच रहेका विभिन्न दुविधा विचमा सामाजिक सुरक्षाको बारेमा जानकारी प्राप्त गर्न र सामाजिक सुरक्षा कोषलाई त्रिपक्षीय श्रमिक, रोजगारदाता र सरकार पक्षबाट व्यवस्थापन गर्नको निम्ति कार्यक्रमको आयोजना गरियको बताए।
पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उमेश प्रसाद ढकालको सभापतित्वमा आयोजना गरिएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली,जिल्ला सहकारी संघका कोषाध्यक्ष बिमल कुमार ढकाल,थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान,जनमुखी अभियान प्रालिका अध्यक्ष अरुण रायमाझी लगायत यस क्षेत्रका उद्योग प्रतिष्ठान, बिमा कम्पनीमा कार्यरत व्यवस्थापक,शैक्षिक संस्थान, सहकारी तथा संघ संस्थामा आवद्ध प्रमुख तथा संचालकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख बिष्टले रोजगार दाता र श्रमिक विच रहेको सम्वन्ध विस्तार गर्दै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन नेपाल सरकारसँग मिलेर कार्य गर्न तथा विद्यमान श्रम ऐन, सामाजिक सुरक्षा ऐन नियमावलीमा भएका व्यवस्था बमोजिमका सुविधाका बारे जानकारी प्राप्त भएको बताउनुभएको थियो ।






