बाँस र निगालाको हस्तकला तालिममा सहभागी हुँदै थाहाका महिलाहरु

तामसालिङ खबर
१२ फाल्गुन २०७९, शुक्रबार १५:१८

फाल्गुन, हेटौडा (थाहा नगर) – गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत थाहा नगरपालिकाको वडा नम्बर ४ ठूलो मार्खुमा विपन्न वर्गका महिलाले बाँस, निगालाको हस्तकलाका सामग्री बनाउने तालिम शुरु गरेका छन् ।

थाहा नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा १५ दिनको सीप विकास तालिम शुरु भएको लघु उद्यम सहजकर्ता दिक्षा पाण्डेले बताइन् । १५ जना महिला सहभागी तालिममा रामकुमार राईले सीप तालिम दिइरहेका छन्।

तालिम उद्घाटनको क्रममा लघु उद्यम विकास कार्यक्रमका अधिकृत कुमार नेगी र थाहा नगर कार्यपालिका सदस्य चन्द्रमाया थिङले तालिमको पूर्ण उपयोग गरी सीप सिकेर व्यवसायिक कार्यमा लाग्न सहभागीहरुलाई आग्रह गरेका थिए ।

तालिममा मुढा, कलमदानी, फुलदानी, फोटो फ्रेम, चुरा स्टाण्ड र र्याक बनाउन सिकाइने प्रशिक्षक रामकुमार राईले जानकारी दिए । तालिमको अन्त्यमा सहभागीहरुले तालिमको क्रममा तयार गरेका सामग्रीहरु प्रदर्शन गरिनेछ ।

निगालाबाट सामान बनाउने सीप विकास तालिम शुरु गर्नुअघि महिलाहरुले उद्यम विकास तालिम लिएका थिए । उक्त तालिममा व्यवसाय छनोट गर्दा बजार, कच्चा पदार्थ, प्रविधि, कामदार, पूर्वाधार, लगानी, सरकारी नीति, जोखिम आदि कुरामा ध्यान दिनुपर्ने कुरामा स्पष्ट भएपछि सो आधारमा उनीहरुले निगालोबाट हस्तकलाका सामग्री बनाउने व्यवसाय छनोट गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*