बागमती गाउँपालिकामा सहिद लखन थापाकाे शालिक सहितकाे लखन पार्क बन्ने
फाल्गुन, हेटौडा – पुर्बी मकवानपुरको बागमती गाउँपालिकामा नेपालकाे प्रथम सहिद लखन थापाकाे सालिक बन्ने भएकाे छ ।
४१ औं मगर स्थापना दिवसकाे अवसरमा पालिकाले ७ नम्बर वडा लामिटारमा सहिद थापाकाे सालिक सहित लखन पार्क स्थापना गर्न लागिएकाे पार्क निर्माण समितिका संयाेजक खड्कबहादुर पुलामीले जानकारी दिनुभयाे ।
पार्क निर्माणका लागि हाल जग्गाकाे तयारी भएकाे र आवश्यक बजेटकाे लागि तिनै तहका सरकार संग पहल भइरहेकाे संयाेजक पुलामीले जानकारी दिनुभयाे ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले मगर संघको स्थापना दिवस मगर समुदायकाे एकता दिवस हाे । तर एकता दिवसकाे अर्थ लगाएर जनजातिप्रति दमन गर्ने शासकहरूकाे पक्षमा मनाउन लागिएकाे छ । त्यस्ताे कार्य अब सबै तहमा सच्याउनु पर्ने र एकता दिवस मगर समुदायकाे स्थापना दिवसलाई मान्नु पर्ने सरकारलाई सुझाव दिनुभयाे ।
मगर समुदायकाे सान प्रथम सहिद लखन थापाकाे सम्मानमा अब बन्ने लखन पार्ककाे लागि आगामी वर्षमा आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रम सफलताकाे शुभकामना व्यक्त गर्नुभयाे ।
बागमती गाउँपालिका सबै जातिकाे भाषा, कला, संस्कार तथा संस्कृति संरक्षणकाे लागि सधै प्रतिवद्ध रहेकाे र मगर समुदायकाे सम्मानमा पालिकाले सार्वजनिक बिदा दिएकाे साथै आगामी दिनमा पालिकाकाे क्यालेण्डरमै बिदा राखिने बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले बताउनु भयो । साथै लखन पार्क स्थापनामा पालिकाले डिपिआर गर्न तथा निर्माणका लागि आवश्यक सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयाे ।
लखन पार्क निर्माण समितिको संयाेजक खड्कबहादुर पुलामीकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा समाजकाे मानप्रतिष्ठा बढाउन याेगदान गर्ने मगर समुदायका विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएकाे थियाे ।







