मानव र वन्यजन्तुबीच द्वन्द हटाउन स्थानीय स्तरमा सचेतनामुलक कार्यक्रम गर्नुपर्छ – मुख्यमन्त्री जमकट्टेल
फाल्गुन, हेटौडा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मानव र बन्यजन्तु बीच द्वन्द्व हटाउन स्थानीय स्तरमा विभिन्न सचेतनामुलक कर्यक्रम गर्नुपर्ने बताउनु भएको छ । मानव र वन्यजन्तुको द्वन्द्व हटाउन जनताको नजिक रहेको स्थानीय सरकारले स्थानीय स्तरको गाउँ बस्ति टोल लगायत प्रभावित क्षेत्रहरुमा सचेतनामुलक कार्यक्रम बनाई अभियानको रुपमा सन्चालन गर्नुपर्ने बताउनु भयो।
जिल्ला समन्वय समिति मकवानपुर, डिभिजन वन कार्यलय मकवानपुर, डिभिजन वन कार्यालय राप्ती मनहरीको आयोजनामा बिहिबार हेटौडामा भएको मानव बन्यजन्तु द्वन्द एवम् बन डढेलो न्यूनीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जमकट्टेलले वन जंगल बिनाशको मुख्य कारण जनावरहरु बास स्थान र खानाको खोजिमा मानव बस्तीमा छिर्न थालेपछि जनावर र मानव बिच द्वन्द्व भएको बताउनुभयो ।

त्यस्तै, मकवानपुरमा हालै हात्तीको आक्रमणको घटना वनजंगलको संरक्षण नहुनु, खानेकुरा सकिएपछि गाउ बस्तिमा पसेपछि बन्यजन्तु र मानब बीच तनाब बढेको बताउनु भयो। प्रदेश सरकारको मातहतमा निकुञ्ज नभएको स्मरण गराउँदै मुख्यमन्त्री जमकट्टेलले स्थानीय सरकारले वनको योजना बनाएर संघीय सरकार संग समन्वय गर्नुपर्नेमा जोड दिए । जंगलबाट वन्यजन्तु गाउँमा प्रवेश गर्ने स्थानमा वाल लगाउने, तारबार लगाउने, आवतजावतको लागि अण्डरपास बनाउने जस्ता कार्य गर्नुपर्ने बताउनु भयो ।
त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेश सांसद प्रेम बहादुर पुलामी छिन्तुले वन कार्यालयका कर्मचारीलाई वन्यजन्तुका कारण हुन सक्ने मानविय क्षति न्यूनिकरण गर्नका लागि गम्भीर भएर बढ्न जोड दिनुभयो । बन्यजन्तु गाउँ बस्तीमा प्रवेश गर्नु भन्दा पहिले नै सचेत गराउन वन कार्यालय र वनसँग सरोकार राख्ने निकाय तयारी अबस्थामा हुनुपर्ने बताउनुभयो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले डँढेलो मानिसले व्यक्तिगत स्वार्थका लागि लगाउने भएकाले यसो नगर्न समेत आग्रह गरे । मानिस वनको संरक्षणका लागि लाग्नुपर्ने उनले बताए । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले वन्यजन्तुको आक्रमणबाट भएका घटनामा पीडित पक्षलाई राहत प्रदान गरे तापनि मानिसको जिवन अमुल्य भएकोले मानव आफै पनि सजग रहनु पर्ने उहाँको भनाइ रहेको छ ।
जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख ललित घलानको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिले प्रकाशन गरेको मकवानपुर अध्ययन भाग २ प्रमुख अतिथि रहनु भएको मुख्यमन्त्री जमकट्टेलले बिमोचन गर्नु भएको थियो।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समितिको उप-प्रमुख सानुकाजी लुईटेल, प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे, जिल्ला समन्वय अधिकारी बासुदेब खतिवडा, डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख शिव सापकोटा प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्की, सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्ष राम बिष्ट, सामुदायिक वन उपभोक्ता महासघका साधुराम चौलागाई, लगायत पर्सा राष्ट्रिय निकुञ्ज, स्काउट मकवानपुरको प्रतिनिधि, टोल विकास समिति, आमा समुहका प्रतिनिधिहरु सहभागी रहेको थियो ।










