बागमतीको वडा न ३ मा एकैदिन ८ वटा पुलको शिलान्यास
फाल्गुन, हेटौडा (बागमती) – पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा एकैदिन ८ वटा पुलको शिलान्यास भएको छ । पालिकाको ३ नम्बर वडामा रहेको लखन खहरेमा निर्माण हुन लागेको पुलको शिलान्यास भएको हो ।
बागमती प्रदेश सरकार र पालिकाको समपुरक बजेटबाट निर्माण हुन लागेको उक्त पुलको वडा नं. ३ का अध्यक्ष कमान सिं पाख्रिनले शिलान्यास गर्नुभयो ।
प्राविधिक लागत स्टिमेट १ करोड ९७ लाख ८१ हजार १ सय ६७ रुपैयाँ ०९ पैसा रहेकोमा निर्माण व्यवसायी भैरव निर्माण सेवा काठमाण्डौलाई १ करोड ७ लाख ८२ हजार २ सय ५७ रुपैयाँ ६२ पैसामा ठेक्का परेको पालिकाका सब इन्जिनियर राजेन्द्र बहादुर बोहोराले जानकारी दिनु भयो ।
पालिका र निर्माण व्यवसायी संग यही फागुन १० गते भएको सम्झौता अनुसार ६/६ मिटरको ६ वटा कल्बर्ट पुल, कजवे एउटा र ह्युमपाइप कल्बर्ट एउटा गरी जम्मा ८ वटा पुल निर्माण हुनेछन् । निर्माण कार्य आगामी असार मसान्त सम्ममा सम्पन्न गरिसक्नु पर्ने इन्जिनियर बोहोराले बताउनु भयो ।
वर्षायाममा पालिकाको वडा नं. ३ का वडावासीहरुलाई पालिकासम्म आवतजावत गर्न वैकल्पिक मार्ग नभएको आवस्थामा हाल निर्माण हुन लागेको पुल निर्माण पश्चात सहज हुने वडा अध्यक्ष पाख्रिनले बताउनु भयो ।
शिलान्यास कार्यक्रममा वडा नं. १ का अध्यक्ष यहुन्ना राई, निर्माण व्यवसायी नारायण ढकाल, सब इन्जिनियर राजेन्द्र बोहोरा लगायत वडा नं. ३ का स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।






