प्रेस कार्ड दुरुपयोगकाे घटनाप्रति पत्रकार महासंघ मकवानपुरकाे ध्यानाकर्षण
चैत्र, हेटौडा – मकवानपुरबाट सञ्चालनमा रहेका सञ्चारमाध्यम, सञ्चारगृहका नाममा जारी भएका पत्रकार परिचयपत्र (प्रेस कार्ड) को दुरुपयोग भइरहेको घटनाप्रति नेपाल पत्रकार महासंघ मकवानपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले एक प्रेस विज्ञप्ति जारी गर्दै आवाज विहीनहरूको आवाजको रुपमा काम गर्नुपर्ने सञ्चारमाध्यम तथा सञ्चारकर्मीको नाममा गैरकानुनी काम भइरहेका घटना सार्वजनिक हुँदा महासंघ दुःखी भएको जनाइएको छ । निगरानी अनलाइनको नक्कली परिचययपत्र बनाई दुरुपयोग गर्ने एक व्यक्तिलाई प्रहरीले केही दिन अघि पक्राउ गरेको थियो ।
आमसञ्चार क्षेत्रलाई नै हिलो छ्याप्ने, बदनाम बनाउने उद्देश्यले पत्रकार परिचयपत्रको दुरुपयोग गर्दै गैरकानुनी काम गर्ने जोकोहीलाई छानबिन गरी तत्काल कानुनी कारबाही गर्न पनि विज्ञप्तिमार्फत महासंघले आग्रह गरेको छ । पत्रकारिताको आडमा हुने जुनसुकै गलत कार्यको पक्षमा महासंघ नरहेको भन्दै विज्ञप्तिमा गैरपत्रकारलाई सञ्चारमाध्यमको परिचयपत्र उपलब्ध नगराउन, सूचना विभाग तथा सञ्चार रजिष्टार कार्यालयले प्रदान गर्ने प्रेस पासका लागि सिफारिस नगर्न सम्पूर्ण सन्चारमाध्यम, सञ्चारगृहहरुलाई आग्रह गरिएको छ ।
मकवानपुरका केही सञ्चारगृहहरुले गैरपत्रकारलाई परिचयपत्र दिने, सूचना विभाग र सञ्चार रजिष्ट्रारमा सिफारिस गर्ने काम गरेकै कारण सवारी साधनहरूमा जथाभावी प्रेस लेखेर सञ्चालन गर्ने, गैरकानुनी काम गर्ने, मेला, महोत्सव तथा विशेष कार्यक्रमहरुमा पत्रकार भन्दै परिचयपत्र देखाएर प्रवेश गर्ने लगायतका क्रियाकलाप हुँदा सच्चा पत्रकारहरुलाई समस्यामा पारिरहेको भन्दै विज्ञप्तिमा यसले आम पत्रकारिता क्षेत्रकै गरिमा र आस्थामाथि प्रहार भएको महासंघको ठहर छ । भनिएको छ ।
गैरपत्रकारहरुका कारण सिंगो पत्रकारिता क्षेत्रलाई नै बदनाम बनाउने काम भइरहेको हुँदा सञ्चारगृहहरुलाई गैरपत्रकारहरुलाई परिचयपत्र उपलब्ध नगराउन र यसअघि उपलब्ध गराएको भए तत्काल फिर्ता लिन महासंघले अनुरोध गरेको छ ।
साथै यस सूचनालाई अटेर गरी सन्चारगृहहरुले गैरपत्रकारलाई परिचयपत्र दिने तथा सिफारिस गर्ने कार्य गरेको फेला परेमा महासंघबाट प्रदान गरिने सेवासुविधाबाट बञ्चित गर्दै कारबाहीका लागि सरोकारवाला निकायलाई सिफारिस गरिने पनि महासंघले चेतावनी दिएको छ । साथै आफ्नो सञ्चार गृहमा कार्यरत सञ्चारकर्मीहरुको विवरण पेश नगरेकाहरुले तत्काल महासंघ मकवानपुरको कार्यालयमा विवरण उपलब्ध गराउन पनि अनुरोध गरिएको छ ।







