३० लाखसम्मको कृषि परियोजनाको लागि ऋण उपलब्ध गराउने तयारी
बैशाख, काठमाडौ – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ३० लाख रुपैयाँ सम्मको परियोजना ऋण एक प्रतिशत ब्याजदरमा उपलब्ध गराउन अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई सिफारिस गर्ने बताएको छ । किसान श्रीराम घिमिरे र मन्त्रालयका प्रतिनिधि उपसचिव दीपक पौडेलबीच आइतबार भएको सहमतिपत्रमा यस्तो समझदारी भएको हो ।
यस्तै दुवै पक्षबीच देशभर ९ लाखको संख्यामा किसान सूचीकरण भइसकेकाले बाँकी सूचीकरण सकेर किसान वर्गीकरण गरी किसान परिचयपत्र उपलब्ध गराउने, कूल बजेटमा १० प्रतिशत बजेट कृषि क्षेत्रमा छुट्याउनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अर्थ मन्त्रालयलाई सिफारिस गर्ने, रासायनिक मलमा ६९ प्रतिशतसम्म, कृषि बीउबिजन र औजारमा बढीमा ५० प्रतिशत अनुदानलाई निरन्तरता दिने, किसान परिचयपत्रका आधारमा यातायात भाडामा ५० प्रतिशत छुट गर्नका लागि सम्बन्धित मन्त्रालयलाई सिफारिस गर्ने र ३० लाख रुपैयाँसम्मको परियोजना ऋणमा एक प्रतिशत व्याजदरमा उपलब्ध गराउन अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई सिफारिस गर्ने सहमति भएको हो ।
किसानका समस्या समाधानका लागि बैशाख ५ गतेदेखि काठमाण्डौँको भूगोलपार्कमा आमरण अनशन बसेका नुवाकोटको ककनी गाउँपालिका २ का किसान श्रीराम घिमिरे र कृषि तथा पुशपन्छी विकास मन्त्रालयका सचिव डा दीपककुमार खरालको उपस्थितिमा मन्त्रालयका कृषि विभाग, पशु सेवा विभागका प्रतिनिधि र अनशनरत किसान घिमिरेसहितको ५ सदस्यीय प्रतिनिधिहरू बीच भएको सहमतिहरू लागू गर्नेगरी घिमिरेले आइतबार साँझ कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालको हातबाट जुस ग्रहण गरी अनशन तोडेका थिए ।






