मनहरी गाउँपालिकाको अध्यक्ष/उपाध्यक्षको एक वर्षे उपलब्धी सार्वजनिक
जेठ, हेटौंडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षले एक वर्षे कार्यकालको उपलब्धी सार्वजनिक गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै गाउँपालिका अध्यक्ष रन्जन कालाखेती र उपाध्यक्ष रेखा पुलामी मगरले आफ्नो एक वर्षे कार्यकालमा भएका उपलब्धीहरु सार्वजनिक गर्नु भएको हो।
एक बर्षको अबधिमा गाउँपालिका मार्फत भएका भौतिक पूर्वाधार विकास, आर्थिक विकास क्षेत्र, वातावरण तथा विपद व्यवस्थापन क्षेत्र, सुशासन तथा संस्थागत विकास, सामाजिक विकास लगायतका क्षेत्रमा गरेका कामहरुको बारेमा बुँदागत रुपमा जानकारी गराउनु भएको छ ।
लामिटार चकरी सडक स्तरोन्नती, रुपाचुरी फरिवाङ सडक स्तरोन्नती, २ नम्बर वडा सडक स्तरोन्नतीलायतका सडक पूर्वाधारको विकास भइरहेको बताउनु भयो । यस अवधिमा मनहरी अस्पतालको भवन निर्माणको कार्यले गति लिइरहेको र पालिकाको केन्द्रीय प्रशासन भवन निर्माणस्थलको जग्गाको भोगाधिकार प्राप्तीको प्रक्रियामा रहेको पनि गाउँपालिका अध्यक्ष कालाखेतीले बताउनु भयो।
मनहरी ३ मा तरकारी फलफूल कृषकलाई लक्षित गरी ४ सय मेट्रिकटन क्षमताको कोल्डस्टोर्स निर्माणको डिपिआर भई बोलपत्र आह्वानको प्रक्रियामा रहेकोसमेत बताइएको छ । गाउँपालिकाले यस अवधिमा ७ नम्बर वडाको प्रतापपुरमा कालोपत्रे, वडा नं. ८ र ९ सिमा सडक स्तरोन्नती, डिल्लीपुर सडक स्तरोन्नतीलगायत परियोजना सञ्चालनमा रहेको बताएको छ ।
वातावरण तथा विपद व्यवस्थापनतर्फ हावाहुरी र आगलागी पीडितलाई राहत उपलब्ध गराउन कार्यविधि संशोधन गरी राहत रकम वृद्धिलगायतका काम गरेको उल्लेख छ । सामाजिक विकासअन्तर्गत प्रत्येक वडाका २०० विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा गरिएको, ज्येष्ठ नागरिक समन्वय समिति गठन र सञ्चालनको लागि कार्यविधि तर्जुमा जस्ता कार्यलाई प्रमुख उपलब्धीको रुपमा व्याख्या गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष रेखा पुलामी मगरले आफू मातहत भएका कामहरुबारे स्पष्ट पारेकी थिइन् । उनले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गको क्षेत्रमा गरेका कामहरुको बारेमा उजागर गरेकी थिइन् ।






