कैलाशको चुनिया-नामटार-कालिकाटार सडक स्तरोन्नति हुँदै
असोज, हेटौडा (कैलाश) – मकवानपुरको कैलाश गाउँपालिकाको प्रमुख मार्ग चुनियाँ – नामटार – कालिकाटार सडक स्तरोन्नतिका लागि सोमबार शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले संयुक्त रूपमा सडकको शिलान्यास गरेका हुन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मोक्तानले जनप्रतिनिधिको रूपमा आइसकेपछि सडक स्तरोन्नतिका लागि निरन्तर संघ र प्रदेश सरकारसंग पहल गरेको र यसको परिणाम स्वरूप पछिल्लो समय बजेट विनियोजन भएकोले विभिन्न खण्डमा काम भइरहेको बताउनुभयो । सडक स्तरोन्नतिसहित कालोपत्रेको काम पनि अघि बढाउने बताउँदै स्थानीयलाई सहयोगका लागि आग्रह गरे ।
त्यस्तै, उपाध्यक्ष ठकुरीले सबैको साथ सहयोगबाट मात्रै स्थानीय क्षेत्रको विकास हुने बताउँदै सडक निर्माणका क्रममा निरन्तर निगरानी र अनुगमन गर्न स्थानीयलाई आग्रह गर्नुभयो। कैलाश-१० का वडा अध्यक्ष सूर्यबहादुर ब्लोनको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, ९ नम्बर वडा अध्यक्ष भुवनसिं घलान, निर्माण व्यवसायी सुनिल गोले, स्थानीय कमल अर्याल लगायतको उपस्थिति रहेको थियो ।
शिलान्यास गरिएको चुनियाँ-नामटार-कालिकाटार सडकको कुमल्टारदेखि बनझाक्री खोल्चा (च्याखेटार) खण्डको साढे ७ किलोमिटर सडक स्तरोन्नतिका लागि अमृता/आकृति मालिका/गोले जेभी हेटौंडा-१ ले भ्याट सहित १४ करोड २१ लाख २९ हजार ५ सय ९० रूपैयाँमा ठेक्का सम्झौता गरेको छ । निर्माण कम्पनीले १८ महिनामा सम्पन्न गर्ने जनाएको छ ।






