मनहरी ५ नम्बर वडाले पाए, १० लाखको प्रोत्साहन योजना
असोज, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्बर ५ ले समयमै योजना समपन्न गरेको प्रोत्साहन स्वरुप १० लाख बराबरको योजना पाएको छ। मनहरी गाउँपालिकाको कार्यपालिका बैठकले गत आ वा २०७९/८० मा विनियोजित बजेटमा ५ नम्बर वडाले सबैभन्दा पहिले योजना सम्पन्न गरेको प्रोत्साहन स्वरुप १० लाख बजेटको योजना प्राप्त गरेको हो ।
वडाले प्रोत्साहन स्वरुप प्राप्त गरेको बजेटबाट ‘रानाचोक देखि सानो खोल्सी सम्मको बाटो स्तरीकरण’ मा ५ लाख र ‘वण्डेश्वर मन्दिर परिसर पुर्वाधार निर्माण’ मा ५ लाख गरी १० लाख बराबरको योजना प्राप्त गरेको छ ।
वडाबासीको निरन्तर चासो निगरानी जनप्रतिनिधि र उपभोक्ता समितिको सक्रियताले समयमै योजना सम्पन्न भएको वडाअध्यक्ष दीपेन्द्र अधिकारीले बताउनुभयो। यो प्रोत्साहनले आगामी दिनमा थप प्रभावकारी रुपमा योजना सञ्चालन गर्न हौसला मिलेको वडाअध्यक्ष अधिकारीको भनाई छ ।
वडाले गाउँपालिकाबाट विनियोजित बजेट तथा कार्यक्रम अन्तर्गतको २२ वटा योजनाहरु गत आर्थिक बर्षको दोस्रो चौमासिकमै सम्पन्न गरेको वडा सचिब बिदुर पाठकले बताउनु भयो।






