राक्सिराङमा दुना टपरी बनाउने १५ दिने तालिम सम्पन्न, २५ जना महिलालाई सीप प्रदान

जेठ, हेटौंडा (राक्सिराङ) – राक्सिराङ गाउँपालिका वडा नं. ३ मा दुना टपरी बनाउने १५ दिने सीपमूलक तालिम शुक्रबार सम्पन्न भएको छ। गाउँपालिकाको आर्थिक सहयोग तथा लालित्य सेवा प्रतिष्ठानको आयोजनामा सञ्चालित तालिममा स्थानीय २५ जना महिलाहरूले सहभागिता जनाएका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राज कुमार मल्लले, “सीप र उत्पादनसँगै रोजगारी सिर्जना गर्न यस्ता तालिमहरू निकै उपयोगी छन्।हामीले गाउँपालिकाबाट यस्ता कार्यक्रमलाई अझै व्यापक बनाउँदै लानेछौं।” उद्यमशिलतालाई निरन्तरता दिने समुहलाई सक्रियताको आधारमा पालिकाले अनुदान समेत दिने बताउनुभयो । महिला दिदीबहिनीले अब सीप प्रदर्शन गर्दै दुना टपरी तयारी पारेर विक्री गर्न आग्रह गरेका थिए ।
तालिम अवधिमा सहभागीहरूले पातबाट दुना, टपरी जस्ता सामग्री बनाउने सीप, गुणस्तर कायम गर्ने विधि, मेसिनको प्रयोग तरिका तथा उत्पादनलाई बजारसम्म पुर्याउने उपायहरू सिकेका थिए।
तालिममा प्रयोग गरिएका मेसिन सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गरिएको छ। सामुदायिक वनमार्फत महिलाहरूको समूह बनाएर उत्पादनलाई निरन्तरता दिने र व्यवसायिक रूपमा अघि बढाउने तयारी भइरहेको समूह अध्यक्ष ज्ञानेन्द्र तामाङले जानकारी दिए। तालिममा सहभागी महिलाहरूले आफूहरूलाई आत्मनिर्भर बनाउने मौका मिलेको भन्दै खुसी व्यक्त गरेका थिए।
गाउँपालिका अध्यक्ष राज कुमार मल्लको प्रमुख आतिथ्यतामा कार्यक्रममा भएको थियो।त्यस्तै, गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत, सामाजिक विकास अधिकृत गोविन्द अधिकारी, वडा नं. ३ का अध्यक्ष उत्तम वाइबा, समाजसेवी विरेन्द्र जिम्बा, स्थानीय वन महासंघ राक्सिराङका अध्यक्ष सन्तोष थापा, सिद्धार्थ हरियाली सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष ज्ञानेन्द्र तामाङ, हरियाली टोलविकास समितिका अध्यक्ष माणिकलाल बल लगायतको आतिथ्यता रहेको थियो।
तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।कार्यक्रममा प्रशिक्षक, स्थानीय अगुवाको उल्लेखनीय उपस्थिति रहेको थियो। लालित्य सेवा प्रतिष्ठानका अध्यक्ष मुना पाठकले तालिम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।