राक्सिराङ अस्पतालमा स्वास्थ्य बिमा सेवा सुरु

तामसालिङ खबर
६ बैशाख २०८२, शनिबार १९:३३

बैशाख, राक्सिराङ – मकवानपुरको राक्सिराङ गाउँपालिकामा रहेको अस्पतालमा स्वास्थ्य बिमा सेवा सुरु गरिएको छ । चेपाङ र तामाङ समुदायको बाहुल्य रहेको राक्सिराङ आधारभूत अस्पतालमा पहिलो पटक स्वास्थ्य बिमा सेवा सुरु गरिएको हो । स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएकाले सहुलियतमा स्वास्थ्य सेवा पाउने भएका छन् ।

स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भमा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले स्वास्थ्य बिमामार्फत सेवाग्राहीले प्राप्त गर्ने स्वास्थ्य सेवा अब राक्सिराङ आधारभूत अस्पतालबाट पाउने बताउनुभयो । उहाँले आर्थिक अभाव भएकै कारण सामान्य स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य हुने भन्दै विपन्न समुदायको स्वास्थ्य बिमा गराउन पालिकाले सहयोग गर्ने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमको दिगोपनामा जोड दिनुभयो । कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विजय कापरीले गाउँपालिकाले चालु आर्थिक वर्षमा नौ सय परिवारको स्वास्थ्य बिमा गराउने लक्ष्य लिएको वडा नं. १, २ र ४ का गरी तीन वटा वडाका दुई सय परिवार पालिकामार्फत बिमा कार्यक्रममा आबद्ध भएको जानकारी दिनुभयो ।

बिमा कार्यक्रममा आबद्ध हुने परिवारलाई पालिकाले ७५ प्रतिशत अनुदान र लाभग्राहीले २५ प्रतिशत योगदान गर्नुपर्ने बताउँदै उहाँले अनुदानसमेत उपलब्ध गराएको जानकारी दिनुभयो । प्रतिपरिवार तीन हजार पाँच सय रुपियाँ तिरेर बिमा कार्यक्रममा आबद्ध भएपछि पाँच जनासम्मको परिवार भएकाले वार्षिक एक लाख रुपियाँसम्मको स्वास्थ्य सेवा पाउने व्यवस्था रहेको छ ।

एक जना चिकित्सकको दरबन्दी रहेको सो अस्पतालमा बिमा सेवा शुभारम्भसँगै एक्सरे मेसिन, खानेपानी परीक्षण लघु प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसीलगायत सुविधा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*