लावतीमा शैक्षिक सामग्री वितरण, बालबालिकाको पढाइप्रति अभिभावकले चासो दिन वडा अध्यक्षको आग्रह
 
 भदौ, राक्सिराङ्ग – मकवानपुरको राक्सिराङ्ग गाउँपालिका ३ लावती स्थित श्री प्राथमिक विद्यालयमा सोमबार एक विशेष समारोहका बीच शैक्षिक सामग्री वितरण गरिएको छ। ग्रामिण असहाय बालबालिका सामुदायिक पुनःस्थापना केन्द्रको सहयोगमा आयोजित कार्यक्रममा विद्यालय पोशाक, स्विटर लगायत शैक्षिक सामग्रीहरू वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ३ का वडा अध्यक्ष उत्तम वाइबाले ग्रामीण क्षेत्रका बालबालिकाको शैक्षिक उज्यालो भविष्य निर्माण सबैको जिम्मेवारी भएको उल्लेख गर्दै भने, “हाम्रा बालबालिकाको पढाइप्रति अभिभावकहरूको नियमित चासो जरुरी छ। उनीहरू विद्यालयमा के सिकिरहेका छन्, उनीहरूको अनुशासन, संस्कार र पठनपाठनको वातावरण कस्तो छ भन्ने बुझ्न अभिभावक आफै विद्यालय पुग्नुपर्छ। अभिभावक सक्रिय भए मात्र सिकाइको गुणस्तर अझ उच्च हुन्छ, उहाँले बताउनु भयो।”
शैक्षिक सामग्री पाएका विद्यार्थीहरू हर्षित देखिन्थे भने अभिभावकहरू पनि विद्यालयप्रति झन् विश्वासिलो बनेका थिए। सामग्री अभावकै कारण धेरै ग्रामीण बालबालिका नियमित रुपमा विद्यालय आउन नपाउने समस्या समाधान गर्न यस प्रकारका सहयोगले ठूलो प्रेरणा पुगेको बिद्यालय व्यबस्थापन समितिले जनाएको छ ।
सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिरालाल थिङ, प्रधानाध्यापक पृथ्वी वाइबा, सहयोगी संस्थाको प्रतिनिधि मानव वाइबा लगायतको सहभागिता थियो। उक्त विद्यालयमा विपन्न तामाङ र सिमान्तकृत चेपाङ समुदायका बालबालिकाको उल्लेख्य सहभागिता रहेको छ।



 तामसालिङ खबर
तामसालिङ खबर




