गाउँपालिकाको आफ्नै लागतमा बन्ने भयो, सरिखेत स्वास्थ्य चौकी
मंसिर, हेटौडा (राक्सिराङ्ग) – राक्सिराङ्ग गाउँपालिका वडा नम्बर २ कुडुलेस्थित सरिखेत स्वास्थ्य चौकी भवनको सोमबार शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष राज कुमार मल्लले एक कार्यक्रमका बीच साढे एक तले नयाँ भवनको शिलान्यास गरेका हुन्।
गाउँपालिकाको १ करोड १८ लाख २३ हजार लागतमा भरोसा आल्मुनियम एण्ड कस्ट्रक्सनसंग सम्झौता भई निर्माण हुन लागेको उक्त स्वास्थ्य चौकी भवनले वडा नम्बर १, २ र ३ को क्षेत्रमा स्वास्थ्य सेवा अझ सहज बनाउन अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले केही समयअघिसम्म सिटामोलजस्ता सामान्य औषधिको पहुँच नपुग्ने पालिका अहिले स्वास्थ्य संरचना विकासतर्फ अघि बढेको बताए। सुत्केरी आमा पोषण कार्यक्रममार्फत स्वास्थ्य चौकीमा आउनेको संख्या बढेको उल्लेख गर्दै मल्लले कच्चा र जीर्ण भवनमा सेवा दिँदै आएका स्वास्थ्यकर्मीका लागि नयाँ भवनले काम गर्न सहज हुने बताए।
उनका अनुसार बाँकी १८ महिनाको कार्यकालभित्र भवन निर्माण सम्पन्न गरी थप स्वास्थ्य सेवा विस्तारमा गाउँपालिका प्रतिबद्ध छ। ६ कोठको बन्ने उक्त भवन निर्माणको लागि ३ रोपानी जग्गा स्थानीय शान्ता कुमारी दर्जी र मिठु नेपालिले दान गरेको हुन्।
कार्यक्रम वडा नं. २ का वडा अध्यक्ष बुद्धराम मुक्तानको सभाध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्देश मास्के, उपाध्यक्ष बनस्तम थिङ, स्वास्थ्य संयोजक विजय कुमार कापरी, महिला तथा बालबालिका शाखा प्रमुख गोमा पन्थी, प्रशासन सहायक पुनम कुमार रुम्बा, वडा सचिव लोकेंद्र ओली लगायत स्वास्थ्यकर्मी, स्थानीयवासी उपस्थित थिए।






