राक्सिराङ्गमा आधारभूत तहस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, राष्ट्रिय मावि सिलिङ्गे प्रथम
मंसिर हेटौडा (राक्सिराङ्ग) – राक्सिराङ्ग गाउँपालिकामा आधारभूत तहस्तरीय हाजिरी जवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन बिद्यालयलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको हो।
प्रतियोगितामा राष्ट्रिय मा.वि. राक्सिराङ्ग–६ सिलिङ्गेका शिक्षक कल्पना मरासिनी पोख्रेल, सुनिता थिङ्ग र सरोज थापा प्रथम घोषित भएका छन्। उनीहरूले जनही नगद १० हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन्।
त्यस्तै, श्री माध्यमिक विद्यालय देविटारका शिक्षकहरु बिनोद यादव, मुना सुनार र जुनु दोङ्ग लामा दोस्रो भएका छन्। उनीहरूले जनही नगद ५ हजार सहित प्रमाणपत्र प्राप्त गरे।
तृतीय स्थानमा श्री थुम्की आधारभूत विद्यालय राक्सिराङ्ग–२ का शिक्षक भुपेन्द्र गौतम, लोकेन्द्र लामा ब्लोन र रचना थापा परेका छन्। उनीहरूले जनही नगद ३ हजार सहित प्रमाणपत्र पाएका छन्।
गाउँपालिकाको ३० वटा विद्यालयबाट आधारभूत तहमा कार्यरत ९० जना शिक्षकहरुको सहभागिता रहेको शिक्षा शाखा अधिकृत पंकस थारुले बताउनुभयो। समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत सन्देश मास्के, जिन्सी शाखा प्रमुख रामकृष्ण भट्टराई लगायतले विजयी बिद्यालयको शिक्षकहरुलाई नगद तथा प्रमाणपत्र वितरण गरेका थिए।
गाउँपालिकाले नियमित रूपमा शिक्षकहरुको शैक्षिक क्षमता अभिवृद्धि तथा प्रतिष्पर्धात्मक भावना विकास गर्न यस्ता कार्यक्रम गर्दै आएको छ।







