राक्सिराङ्गमा कृषि हाटबजार: गहत, मास, गिट्ठा, मौरीको मह (तस्बिरहरु)
पौष, हेटौडा (राक्सिराङ्ग) – पश्चिम मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा स्थानीय उत्पादनको प्रबर्द्धन र बजारीकरण गर्ने उद्देश्यले आजबाट राक्सिराङ्ग कृषि हाटबजार शुरु भएको छ। अविरल बर्षा, सडक बाटोको समस्या र ठुला चाडबाडको कारण रोकिएको हाटबजार आज मंगलबार बाट पुन: सन्चालनमा आएको हो ।
स्थानीय परम्परागत उत्पादनहरु गहत, मास, फापर, कोदोको पिठो, आलु, पिँडालु,सालको पातको दुना, फलामे औजारहरु, स्थानीय परिकार गिट्ठा, भ्याकुर, पिँडालु, तरुल, सिस्नु, लगायत लोकल कुखुरा, बंगुरको मासु, ताजा तरकारी, स्थानीय स्तरमा उत्पादित मौरी, चिउरीको मह लगायतका दर्जनौ स्टलहरु हाटबजारमा रहेको थियो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले स्थानीय उत्पादित सामग्रीहरुको प्रबर्द्धनको निम्ति अन्य जिल्लाहरुमा हुने कृषि मेला मा स्टल राखेर प्रचार गर्ने, यहाँ उत्पादित आर्गानिक सामाग्रीहरु सिधै उद्योग संग सम्पर्क गर्ने बातावरण स्थानीय सरकारले समन्वय हुँदै गर्दा कृषकहरुलाई सहज बन्ने बताउनुभयो। बजारमा विषादीयुक्त सामग्रीहरुले स्वास्थ्यमा समस्या पारिरहेको अबस्थामा यस्ता हाट मेलाले गाउँका आर्गानिक स्थानीय उत्पादनहरुको बजारीकरण हुने उहाँले आशा ब्यक्त गर्नुभयो।
कृषि हाट बजारमा साँस्कृतिक तर्फ तामाङ्ग, चेपाङ्ग, नेवारी लगायतको नृत्य प्रदर्शनको प्रस्तुति रहेको थियो । स्थानीय कृषकहरूको उत्पादनलाई सहज रूपमा बजारमा पुर्याई आयआर्जनमा वृद्धि गर्ने, उपभोक्तालाई सुपथ मूल्यमा ताजा तथा स्वास्थ्यकर स्थानीय उत्पादन उपलब्ध गराउने उद्देश्यले सिधै उद्योग संग जोड्ने बातावरण बनेको गाउँपालिका अध्यक्ष राज कुमार मल्लले बताउनु भयो। वर्षयाम र सडक बाटोको कारण हाटबजार ८-९ महिना मात्र सन्चालन गर्न सकेको उहाँले भन्नुभयो।
राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा भएको थियो।
कार्यक्रममा पुर्वमन्त्री सन्त चेपाङ्ग, साल्ट ट्रेडिङ्गको प्रमुख मधुसुधन अधिकारी, अग्नी होत्र आश्रमको प्रमुख डा. सिताराम खनाल,अगुवा कृषक राम बहादुर बस्नेत, गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत सन्देश मास्के, लगायत वडाको जनप्रतिनिधिहरु, स्थानीय राजनैतिक दलका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
















