गाउँमा अस्पताल बन्नु लोकतन्त्रको उपलब्धी हो : मुख्यमन्त्री बानियाँ

तामसालिङ खबर
२७ फाल्गुन २०८२, बुधबार २१:२१

फाल्गुन, हेटौडा (कैलाश) – गाउँमै अस्पताल बनेर सेवा प्रवाह गर्नुनै लोकतन्त्रको उपलब्धी रहेको बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले बताए । बुधबार ९ औँ गाउँपालिकाको स्थापना दिवस कार्यक्रम तथा १० शैयाको वी.पी. स्मृती कैलाश आधारभूत अस्पताल उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले गाउँमा आज १० शैयाको अस्पताल निर्माण भएको छ ।

गाउँपालिकाको भवन समेत बनेको छ, सिंहदरबारको अधिकार गाउँगाउँमा आएको अवस्थामा गाउँकै अस्पतालमा रगत, दिशा पिसाब जाँच गर्ने, आँखा, हाडजोर्नी, जनरल उपचार गर्न कैलाशबासीहरुमा सहज बनेको बताए ।

लोकतन्त्र भ्रमको व्यवस्था नभएको भन्दै लोकतन्त्र सत्य र यथार्थको व्यवस्था हो, जनतालाई सत्य र यर्थाथको बीचमा जनप्रतिनिधिहरुले आफ्नो कुरा गर्दै जनताको कुरा सुन्दै काम गरिनुपर्ने बताए । भौगोलिक विकटताले दुर्गम रहेको कैलाश गाउँपालिका विस्तारै सडक सञ्जाल विस्तार, शिक्षा र स्वास्थ्यमा सुधार, सेवा सुविधाले विस्तारै अघि बढिरहेको अवस्था रहेको उनले बताए ।

उनले कैलाशलाई प्रकृतिले भरिपूर्ण रहेको र भगवान् महादेवले कैलाशमा आराधाना र ध्यान गर्ने स्थलको रुपमा परिचित रहेका पर्यटनको हिसाबले विकास हुँदै गरिरहेको समेत बताए । गाउँपालिकाले सीपमूलक र उद्यमीको आयआर्जनसँग जोडेर लैजानुका साथै शिक्षामा प्रविधिसँग जोडेर अध्यायन गराउनुपर्ने बताए ।

यस अस्पताललाई आज जुन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालबाट डाक्टरहरुको टोलीले शिविर सञ्चालन गर्नुभएको छ आगामी दिनहरुमा कम्तिमा महिनामा शिविर सञ्चालन गरि सेवा प्रवाह गर्न आग्रह छ, मुख्यमन्त्री बानियाँले भने । अस्पताललाई चाहिने आवश्यक पर्ने सामाग्री प्रदेश सरकारले पनि सहयोग र सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानले गाउँमै सञ्चालित अस्पतालबाटै सेवा लिन आग्रह गरे । गाउँघरमा उपचारबाट बञ्चित नहोस् भन्ने हेतुले गाउँघर स्थानीय तहमा गाउँघर क्लिनिक सञ्चालन भएको छ तर पनि ठुला वा जटिल रोगको उपचार अस्पतालबाटै गरिनुपर्ने बताए ।

नेपालको संघीय शासन प्रणाली कार्यान्वयनसँगै स्थापित स्थानीय सरकारको महत्वपूर्ण आधारस्तम्भको रुपमा गाउँपालिका रहेको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । हामीले पहिलो पटक नवौं स्थापना दिवस मनाएका हौं ।

यसअघि कुनै पनि स्थानीय सरकारले स्थापना दिवस नमनाएको अवस्थामा पहिलो पटक हामीले मनाएको अध्यक्ष मुक्तानले बताए । स्थानीय सरकार भए पश्चात भएका विकास र उपलब्धीहरुको समीक्षा गर्नु, हामीप्रति जनताको विश्वास अझ बलियो बनाउनु, गाउँपालिकाको विगत, वर्तमान र भविष्यको यात्राको समीक्षा गर्नुनै यस दिवस कार्यक्रमको उद्देश्य रहेको अध्यक्ष मुक्तानले बताए ।

त्यस्तै, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले अस्पतालन सञ्चालनको लागि कार्यालयको तर्फबाट आवश्यक समन्वय र सहकार्य गरि अघि बढ्ने प्रतिवद्धता जनाए । चाडैं डाक्टरको नियुक्ती गरि सेवा प्रवाह गरिनुपर्ने बताउँदै विकट कैलाशमा पनि अस्पतालबाट धेरै विरामीको उपचार भइरहेको सुन्न पाइयोस् उनले भने। गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकरी, वडा २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्णसारु मगर, नेकपाका कमल अर्याललगायतले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा गाउँपालिकाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, विद्यालयका शिक्षकशिक्षिका, राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी, सञ्चारकर्मीहरुको उपस्थितीरहेको थियो । कार्यक्रममा लोकगायिका प्रतिमा अर्यालले आफ्नो साङ्गीतिक प्रस्तुती दिएकी थिइन् । सोही अवसरमा र्कचारी, र विद्यार्थीले पनि आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*