खुला दौड प्रतियोगिताको पुरुषमा हेम्जन र महिलामा लोप्चन प्रथम

तामसालिङ खबर
२९ फाल्गुन २०८२, शुक्रबार १९:३४

फाल्गुन, हेटौडा – हेटौंडामा सञ्चालित बृहत खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत पहिलो दिन जिल्लास्तरीय महिला तथा पुरुष १० किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार बिहान हेटौंडामा १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा पुरुषतर्फ राक्सिराङ १ का सुवास हेमजन प्रथम भएका छन् । अन्य २२ प्रतिस्पर्धीलाई उछिन्दै हेमजनले प्रथम स्थान हाँसिल गरेका हुन् । दौडमा मनहरी ८ का सन्दिप विक द्वितीय र बकैया ८ का राजकुमार गोले तृतीय भए । यस्तै महिलातर्फ हेटौंडा १३ की साधना लोप्चन प्रथम भइन् । उनले अन्य ६ प्रतिस्पर्धीलाई पछि पार्दै महिला दौडको उपाधि जितेकी हुन् ।

महिलातर्फ हेटौंडा १३ कै अमृता मोक्तान द्वितीय, हेटौंडा ४ की सुविना गोले तृतीय र राक्सिराङ १ की निलिमा थिङ सान्त्वना भइन् । दुवैतर्फको प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः २० हजार, १० हजार, ५ हजार र एकहजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा खेलकुद महोत्सव भएको हो । महोत्सव अन्तर्गत विभिन्न ६ वटा विधामा खेलकुद प्रतियोगिता हुनेछ । दौडमा इच्छा भएका खेलाडीहरुको पहिचानसहित खेल क्षेत्रको विकासका निम्ति जिल्लास्तरीय महिला तथा पुरुष दौडको आयोजना गरिएको खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिए ।

शुक्रबारबाट नै जिल्लास्तरीय डबल्स ब्याड्मिन्टन प्रतियोगिता समेत सुरु भएको छ । हेटौंडा ११ थानाभ¥याङस्थित कभर्ड हलमा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् खेलकुदप्रेमी अरुणराज सुमार्गीले ब्याड्मिन्टन प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

ब्याड्मिन्टन प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १० हजार तथा सान्त्वनाले ५/५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मकवानपुर खेलकुद विकास समितिका सदस्य मदन उप्रेतीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*