तिन नम्बर प्रदेशको पहिलो बैठक

तामसालिङ खबर
४ माघ २०७४, बिहीबार २३:४१

हेटौडा : प्रदेश ३ को पहिलो प्रदेशसभा बैठक आज (विहीबार) दिउँसो १ बजे हेटौंडामा सुरु हुँदैछ । नयाँ संविधान अनुसार मुलुक संघीयतामा गइसकेपछि गठन भएको प्रदेशसभाको पहिलो बैठक हेटौडाबाट सुरु हुन लागेको हो ।

देशभरिका ७ वटा प्रदेशमध्ये ऐतिहासिक पहिलो बैठक बसाउन प्रदेश नम्बर ३ अरुभन्दा अगाडि देखिएको छ । नेपालको इतिहासमै प्रदेश संसदको बैठकको अभ्यास हुन लागेको यो पहिलो घटना हो । बुधबार संसद सचिवालयका कर्मचारीहरूको उपस्थितिमा पहिलो बैठकको पूर्वअभ्यास समेत गरिएको छ ।

विहीबार बस्ने बैठकले प्रदेशसभाका सभामुखको निर्वाचनको मिति तय गर्ने छ । बैठकको सुरुमा संसदको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य (सभामुख) ले प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् ।

प्रदेश प्रमुखको पत्र पढिसेकपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुले संसद बैठकमा मन्तव्य प्रस्तुत गर्नेछन् । दलका प्रतिनिधिहरुको सम्वोधनपछि आगामी बैठक सञ्चालनका लागि प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरिने छ ।

त्यस्तै, कार्यविधि पारित गरिसकेपछि सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न बैठकको अध्यक्षता गर्ने मानीनय सदस्यहरुको टीम घोषणा गरिने प्रदेश संसदको कार्यसूचीमा उल्लेख छ । बैठकको अन्तिममा अन्तरिम कार्यविधि २०७४ को दफा (६) को उपदफा -१ अनुसार प्रदेशसभाको सभामुखको निर्वाचनको मिति तोकिने छ र त्यसपछि विहीबारको बैठक समाप्त हुनेछ ।

प्रदेशसभाको बैठकमा भाग लिन ३ नम्बर प्रदेशका १३ जिल्लाका प्रदेशसभा सदस्यहरु हेटौडामा भेला भइसकेका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लाका साथै यस प्रदेशमा सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, नुवाकोट, धादिङ, रसुवा र चितवन जिल्ला समेटिएका छन् । प्रदेश ३ मा ११० सदस्यीय संसद छ । यो सातै प्रदेशमध्ये सबैभन्दा ठूलो प्रदेशसभा हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*