हावाहुरीका कारण सर्लाहीमा एकजनाको मृत्यु
 
 सर्लाही – बदलिदो मौसम परिवर्तन सँगै सर्लाहीमा हावाहुरीले पसलको छानो उडाएर थिच्दा एक जनाको ज्यान गएको छ ।
शनिबार अपरान्ह जिल्लाको दक्षिण-पश्चिम क्षेत्रमा पर्ने रामनगर गाउँपालिका वडा नम्बर १ का राजाराम चौधरीको खाजा पसलमा बाँसको टाटी र फुसले छाएको छानो उडाउँदा सोही ठाउँका ४५ वर्षीय पनिलाल सहनीको ज्यान गएको हो ।
छानोले थिच्दा गम्भीर घाईते भएका सहनीलाई उपचारका लागि सदरमुकाम मलङ्गवा लैजादै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । घटनास्थल मलङ्गवाबाट करिव २५ किलोमिटर पश्चिमतर्फ पर्छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवामा ल्याइएको छ ।
मौसम बद्लीभइ जिल्लाको दक्षिणी भेगमा शनिबार अपरान्ह केहीबेर हावाहुरी चलेको थियो । हावाहुरीले फुस, टाली र खपडाले छाएका घरहरुमा क्षति पुर्याएको स्थानीयवासीले बताएका छन् । उत्तरी चुरे क्षेत्रमा पनि हावाहुरी चल्दा दर्जनौं कच्ची घरका छानो उडाएको छ ।

 तामसालिङ खबर
तामसालिङ खबर




