तिन जिल्ला जोड्ने गोसाइकुण्ड मार्ग बन्ने
 
 रसुवा – तिन नम्बर प्रदेश सरकारले संघिय राजधानी काठमाडौबाट रसुवाको धार्मिक क्षेत्र गोसाइकुण्ड जोड्ने ‘गोसाइकुण्ड मार्ग’ निर्माण गर्ने भएको छ । चालु आर्थिक बर्षमा डिपिआर तयार गरी आगामी आर्थिक बर्ष २०७६/०७७ बाट निर्माण थालनी हुने तिन प्रदेशका उपसभामुख राधिका तामाङले बताइन ।
गोसाइकुण्ड तिन जिल्ला जोड्ने गरि काठमाडौंको सुन्दरीजलबाट नुवाकोट र सिन्धुपाल्चोकको सिमाना कुटुमसाङसम्म अन्दाजी एकसय किलोमिटर लामो उक्त मार्गको डिपिआर तयारी भएको अबसरमा शुक्रबार आयोजित अन्तरक्रियामा उपसभामुख तामाङले उक्त कुरा बताएकी हुन । महत्वपूर्ण मार्ग भएकोले यसको निर्माणका लागि सबै स्थानीय जनताको त्यत्तिकै जिम्मेवारी र सहयोग आवश्य रहेको बताउनु भयो ।

पर्यटकीय क्षेत्र चिसापानीमा सम्पन्न सो कार्यक्रममा सिन्धुपाल्चोकबाट प्रतिनिधीसभा सदस्य शेरबहादुर तामाङले विगतमा कहिले हेलम्बु मार्ग र कहिले गोसाइकुण्ड मार्गको नाममा केही बजेड विनियोजन भएको भएपनि आफुले आवश्यक ध्यान पु¥याउन नसक्दा समितिमा बस्नेहरुले सानातिना खाल्डा पुरेर वजेट सिध्याउने गरेको दुखेसो व्यक्त गर्दै आगामि दिनमा त्यसो नहुने बताए ।
‘अव तीन वटै सरकारको प्राथमिकतामा रहेको यो मार्ग बन्नेमा कुनै शंका छैन’, उनले भने ‘प्रदेश सरकारले वजेट व्यवस्था गर्छ, केन्द्र र स्थानीय सरकारले कार्यन्वयनमा ताकेता गर्छ । यदि बजेटको अभाव भयो भने हामी केन्द्र सरकारबाट थप्न लगाउँछौं’ । काठमाडौंबाट निर्वाचित प्रतिनिधी सभा सदस्य कृष्ण राईले विकासको पहिलो खुडकिलो सडक रहेको बताउँदै यस मार्गको निर्माणसंगै यस क्षेत्रमा कृषि पर्यटन प्रवर्धनका कार्यक्रम संगै लैजान सकिने बताए । सरकारले समृद्धिका आधारहरु तयार पारिसकेको भन्दै सांसद राईले सत्तारुढ पार्टी पनि एकिकृत भैसकेकोले अव सरकार र पार्टी पंक्ति एकढिक्का भएर विकासमा जुटने बताए ।

काठमाडौका प्रदेश सांसद रामेश्वर फुयालले आफू यस मार्ग निर्माणका लागि धेरै पहिला देखि लागि परेको भन्दै अव चाहीं साँच्चिकै बन्नेमा आफु ढुक्क रहेको बताए । उनले कृषि पर्यटनको विकास हुने भन्दै जुका र सिस्नुको सुप कति खुवाउन सक्ने भनेर चिसापानीका स्थानीयलाई प्रश्न गरे ।
कार्यक्रममा ग्रामिण विकासका लागि कृषि-पर्यटन भन्ने नारासहित त्यस क्षेत्रमा क्रियाशिल दोनडुप प्रतिष्ठानका तर्फबाट सचिव पासाङ शेर्पाले यस मार्गलाई आर्गानिक पदमार्गसंगै जोडेर अर्गानिक कृषि जोन घोषणा गर्न सुझाव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मेलाम्ची नगरपालिका मेयर डम्बर अर्याल, शिपुरी गापा अध्यक्ष रामकृष्ण थापा, दुप्चेश्वर गापा अध्यक्ष युविन्द्र तामाङ, प्रदेश मन्त्रालयका इन्जीनियर, स्थानीय पार्टी प्रतिनिधीहरु र जनसमुदायको सहभागिता रहेको थियो । अन्तरक्रिया पश्चात केशव सिंखडाको संयोजकत्वमा १३ सदस्यीय गोसाइकुण्ड मार्ग निर्माण समन्वय समिति निर्माण गरेका छन ।

 तामसालिङ खबर
तामसालिङ खबर




