शक्तिशाली सामुद्रिक आँधी भारतमा सक्रिय
एजेन्सी – फानी’ नाम दिइएको शक्तिशाली समुद्री आँधी शुक्रबार बिहान भारतको पूर्वी तटवर्ती राज्य उडिसा प्रवेश गरेको छ । बङ्गालको खाडीबाट शुरु भएको समुद्री आँधी झण्डै १८० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ ।
आँधीको प्रभावले त्यहाँ बिहानदेखि नै वर्षा हुन थालेको छ । भारतको मौसम विभागका अनुसार फानी बिहान आठ बजे तटीय इलाकामा आइपुगेको थियो । यो उत्तर दिशातिर अघि बढ्ने र छ घण्टापछि शक्ति केही क्षीण हुँदा बलियो हावाहुरीको रूप लिन सक्ने मौसम विभाले जनाएको छ ।
भारतको पूर्वी तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी आउने आशङ्कामा त्यस क्षेत्रका करिब आठ लाख मानिसलाई बिहीबार नै सुरक्षित स्थलतर्फ सारिएको थियो । लाखांै व्यक्तिलाई पश्चिम बङ्गाल राज्यबाट सुरक्षित स्थानमा सर्नका लागि भनिएको छ ।
नेपालको मौसम पूर्वानुमान महाशाखाले सो समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बङ्गलादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको प्रभाव नेपालमा पर्न सक्ने बताएको छ ।
उडिसामा करिब एक हजार विद्यालय र सरकारी भवनमा १० लाखभन्दा बढी व्यक्तिलाई शरण दिइएको छ । छिमेकमा पर्ने राज्य आन्ध्र प्रदेश र तामिलनाडुलाई पनि यस आँधीले प्रभावित पार्न सक्ने अनुमान गरिएको छ । ती क्षेत्रमा उच्च सर्तकता राखिएको छ ।
भारतको पूर्वी र दक्षिणपूर्वी क्षेत्रमा अप्रिलबाट डिसेम्बरसम्म प्रायःआँधीले सताउने गर्दछ । सन् २०१७ मा तामिलनाडु र केरला राज्यमा आएको सामुद्रिक आँधी ओक्खीले करिब २५० जनाको ज्यान लिएको थियो । त्यस्तै छ सय व्यक्ति वेपत्ता भएका थिए ।
गत अक्टोबरमा पनि सामुद्रिक आँधी टिल्लीका कारण उडिसा राज्यबाट करिब तीन लाख व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको थियो । एजेन्सीको सहयोगमा






