गीत डिलिट काण्डमा अझै लफडा (भिडियो )
मकवानपुर, २८ जेठ । बहुचर्चित गीत ‘तिम्रो मायाले बाँधेर राख’ को कभर भर्सन युट्युबबाट हटाइएको बारेमा गीतका वास्तविक सर्जक गायक श्याम कार्की र कभर भर्सन गाएकी गायिका एलिना चौहानबिचको लफडाको अझै चर्चा सेलाएको छैन । एलिनाको कभर भर्सन गीत युट्युबबाट डिलिट गरिएपछि गायक कार्कीप्रति नै श्रोताहरुले प्रश्न तेस्र्याएका थिए । एलिनाले दुःखद स्टाटसका साथै गायक कार्कीसँग फेसबुक म्यासेन्जरमा भएको केही च्याट सार्वजनिक गरिएपछि श्रोताहरुले गीत डिलिट हुनुको वास्तविक कारणबारे जिज्ञासा गरेका थिए । एलिनाले फेसबुकमा पोष्ट गरेकी स्टाटसमा गीतको कभर भर्सन गाउन गायक स्वयमले अनुमति दिएता पनि पछि हटाउन दबाब दिइएको बताइएको थियो । त्यस्तै एलिनाले सार्वजनिक गरेको च्याट स्क्रिनसर्टबाट कभर भर्सन गाउन दिइएको तर भिडियो बनाउने भन्ने बारेमा चाहिँ द्विविधा रहेको चर्चा समेत भएको थियो । तर कभर भर्सनमा कभर मात्र गाउने भए ओरिजिनिल गीतको क्रेडिट दिनु भनेका कारण गायक कार्कीले एलिनालाई उक्त गीतको कभर गाउन अनुमति दिएको समेत प्रष्ट प्रमाण च्याट स्क्रिन सटमा देखिएको थियो । एलिनाले आफ्नो स्टाटसमा के लेखेकी थिईन् र गायक कार्कीसँग भएको कुन कुराको स्क्रिन सर्ट पोष्ट गरिएको थियो भन्ने बारेमा तपाईले हाम्रो यस अघिका भिडियोहरु हेर्न सक्नुहुनेछ । हेरौँ भिडियो-
त्यस्तै एलिनाको जवाफपछि केही समय मौन बसेका गायक कार्कीले गीत डिलिट हुनुको कारणबारे प्रष्ट पार्दै उनले आफ्नो अफिसियल फेसबुक पेजमा स्टाटसका साथै एलिनासँग भएको च्याटको स्क्रिन सर्ट समेत सार्वजनिक गरेका थिए । उनले त्यस च्याटमा एलिनालाई मोनेटाईज बन्द गर्न वा गीत डिलिट गर्न सुझाव दिएका थिए । उनको यो स्क्रीन सट पढेपछि एलिनाप्रति पनि श्रोताहरुको आक्रोश देखिएको थियो । तर एलिनाले उक्त च्याट स्क्रिन सट अपुरो रहेको बताउँदै मोनेटाईजको कारण भिडियो डिलिट नगरिएको दाबी गरेकी छिन् । मोनेटाईजको सबै कुरा मिलिसकेको अवस्थामा र मोनेटाईज हटाइएकै अवस्थामा भिडियो डिलिट गरिएको एलिनाले दाबी गरेकी छिन् । उनकै समर्थनमा एलिनाका श्रोताहरुले समेत मोनेटाईजेसन अफ भईसकेकै अवस्थामा भिडियो डिलिट गरिएको आरोप लगाएका छन् । यस बारेमा वास्तविकता के थियो भन्ने बारेमा एलिना र श्यामबिच नै कुरा मिलेको हेर्ने चाहाना हामी सबै श्रोता दर्शकहरुको हो । त्यसैले यस विषयमा यी दुबैले आवश्यक सहमति गरोस् भन्ने चाहाना हामी राख्छौँ । एलिना र श्याम जीको आपसी विवाद उहाँहरुकै आपसी समझदारीमा टुङ्गियोस् यही शुभकामना छ ।
यो गीतको ओरिजिनल भर्सन सन् २०१६ को मे महिनामा गायक श्याम कार्कीले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका थिए । गीतमा रवि मल्लको शब्द र विराट कदरियाको संगीत रहेको छ । अलमोडा राना उप्रेतीको संगीत संयोजन रहेको गीतलाई बिजु कर्मचार्यले मिक्सिङ गरेका छन् । गीतलाई केही समय अघि मात्र चर्चित डान्सर तेरिया मगरले समेत कभर गरेकी थिईन् । त्यस्तै यसै गीतको फिमेल भर्सनलाई नेपाल आईडलको सिजन २ मा फाईनलसम्म पुग्न सफल चर्चित गायिका अस्मिता अधिकारीले आवाज दिएकी छिन् ।






