चितवनका विनोद रानाभाटलाई मृत्युदण्ड नदिइएको पुष्टि
कतार – भारतीय नागरिकको हत्यामा दोषी ठहरिएका चितवनका विनोद रानाभाटलाई मृत्युदण्डको सजाय नदिइएको कतारस्थित नेपाली दूतावासले बताएको छ । रानाभाटलाई कतारको अदालतले तीन वर्ष सजाय र २ लाख ६० हजार रियाल ब्लड मनी तिर्नुपर्ने फैसला सुनाएको दूतावासको भनाइ छ ।
‘आदेश अनुसार ३० अक्टोबर २०१९ मा तीन वर्षको सजाय सकिनेछ । ब्लड मनी भुक्तान गरेपछि रानाभाट जेलमुक्त हुनेछन्,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यस अघि रानाभाटलाई कतारमा मृत्युदण्ड दिइएको हल्ला फैलाइएको थियो ।
सामाजिक सञ्जालमा उनलाई मृत्युदण्ड दिइएको हल्ला फैलाइएको थियो । दूतावासले त्यस्तो फैसला नभएको जनाएको हो । बैदेशिक रोजगारीमा रहँदा सम्झौता अनुसारको काम गरिरहेका रानाभाटलाई भारतीय कामदारले आक्रमण गरेकोमा ज्यानको सुरक्षाका लागि प्रतिकार गर्दा भारत सनैयाका अर्का कामदारको मृत्यु हुन पुगेको थियो ।
कतारस्थित अल ग्रुप क्लीनिङ कम्पनीमा जनरल क्लिन वर्कर पदमा काम गरिरहेका उनलाई घटना लगत्तै कतार पुलिसले पक्राउ गरी ओक्रा जेलमा राखी मुद्धा चलाएको थियो ।







