उत्तम सन्जेलको श्रीमतीसहित तीन जनालाई कर्तव्य ज्यान मुद्दा
काठमाडौं – काठमाडौंको बौद्धमा रहेको समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नीसहित तीन जनालाई प्रहरीले कर्तव्य ज्यान मुद्दा अगाडि बढाएको छ । उत्तम सञ्जेलकी पत्नी कलासहित कर्मचारीहरु पितकुमारी श्रेष्ठ र संगीता केसीविरुद्ध कर्तव्य जान मुद्दामा अनुसन्धान चलिरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
रामेछाप दोरम्बाकी २७ वर्षीया बिमला तामाङले अस्पताल परिसरमै आत्महत्या गरेपछि तीन जनालाई पक्राउ गरिएको र अहिले कर्तव्य ज्यान मुद्दाको प्रकृया अगाडि बढेको प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । तामाङले असार ३ गते अस्पतालमै आत्महत्या गरेकी थिइन् ।
सुसाइड नोटमा तामाङले नाम उल्लेख गरेकाले तीन जनालाई पक्राउ गरिएको थियो । त्यसैका आधारमा आत्महत्या गर्न बाध्य पारेको पक्षमा प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ । प्रमाणीत भएमा मुलुकी फौजदारी संहिता अनुसार पाँच वर्ष जेल सजाय हुने कानुनी प्रावधान छ ।
घटनापछि तामाङका आफन्त र स्थानीयले अस्पतालमा तोडफोड र नाराबाजी गरेका थिए । आफन्तले आत्महत्या नभएर हत्या भएकाले अनुसन्धान गर्नुपर्ने माग गरेका थिए ।






