संखुवासभामा विप्लव कार्यकर्ता खोज्न नाका थुन्दै प्रहरी
काठमाडौं – सोमबार बिहान संखुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताहरुबीच भएको गोली हानाहानको घटनापछि त्यसतर्फ व्यापक सुरक्षाकर्मी परिचालन भएको छ ।
विप्लव कार्यकर्ताहरुले गम्भीर प्रकृतिका हतियार नै पड्काएको भन्दै सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिने प्रयास स्वरुप व्यापक परिचालन गरेको प्रहरीले बताएका छन् ।
विप्लव समूहसँग सोमबार बिहान संखुवासभामा गोली हानाहान भएपछि काठमाडौं र विराटनगरबाट थप सुरक्षाकर्मी त्यसतर्फ पठाएको छ । संखुवासभा को सिलिचुङ्ग गाउँपालिका १ चिसुवा खोलाको होयाङ्ला भन्ने स्थानमा सशस्त्र प्रहरी बल नेपाल प्रहरीको संयुक्त गस्ती टोली र विप्लव समूहका कार्यकर्ताहरु गोली हानाहान भएको थियो ।
विप्लवले भने सोमबार नै विज्ञप्ति निकालेर प्रहरीले अनावश्यक दमन गरेको आरोप लगाएको छ । दमनको प्रतिरोध गर्ने समेत उसले बताइसकेको छ ।
सोमबार बिहान गोली हानाहान भएपछि काठमाडौं र विराटनगरबाट डेढ सयको संख्यामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली त्यसतर्फ पठाएको छ । हिजोबाट नै प्रहरीले त्यहाँ सर्च अपरेशन व्यापक बनाएको छ । तर, प्रहरीले कोही पक्राउ परेको वा नपरेकोबारे केही खुलाएको छैन । @नागरिक_खबर






