ब्राजिलले जित्यो, कोपा अमेरिका कप फुटबलको उपाधि
एजेन्सी – कोपा अमेरिका कप फुटबलको उपाधि आयोजक ब्राजिलले हात पारेको छ । गए राति भएको खेलमा पेरुलाई ३–१ गोलले हराउँदै घरेलु टोली ब्राजिलले उपाधि हात पारेको हो ।
ब्राजिलको जितमा एभर्टनले १४ औं मिनेटमा खाता खोलेका थिए । एभर्टनले ग्यब्रीयल जेससको पासमा गोल गरेका थिए । ब्राजिलको अग्रतालाई पेरुले ४४ औं मिनेटमा पेनाल्टी गोल मार्फत तोडेको थियो । पेरुका बराबरी गानेल जोसे पाओलो गुरेरोले पेनाल्टीको सदुपयोग गरेका थिए ।
त्यसपछि ४५ औं मिनेटमा ब्राजिलका ग्याब्रीयल जेससले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । ७० औं मिनेटमा जेसस दोहोरो पहेंलो (रातो कार्ड) खाँदै बाहिरीएपछि ब्राजिल १० खेलाडीमा समेर्टिको थियो । खेलको अन्तिम मिनेटमा रिचारलिसनले अर्को गोल थप्दै ब्राजिलको जित सहज बनाए ।






