राप्ती खोलाले ४ जना बगायो, एक जनाको उद्धार
हेटौडा – लगातार तिन दिन देखि परेको अविरल वर्षाको कारण हेटौडाको राप्ती खोलामा आएको बाढीले ४ जनालाई बगाएको छ । चार जना मध्ये आज बिहान परिचय समेत १ जना महिलालाइ उद्धार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
४ जना मध्ये १ जनाको उद्धार भएपनि थप ३ जना भने फेला पर्न सकेका छैनन् । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताए ।
त्यस्तै, यता मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ जितपुर भञ्ज्याङमा पहिरोले घर बगाएको छ । स्थानीय ५० बर्षीय सुर्दशन गोलेको घर बर्षासंगै पहिरो जाँदा बगाएको हो । घर बगाएर एक सयमिटर तल पुर्याएको मकवानपुर प्रहरीले जनाएको छ ।
घर बगाउँदा लत्ताकपडा, अन्नपात सबै क्षति भएको छ । घरमा रहेका गोले र चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का २१ बर्षीय प्रमोद भण्डारीलाई जितपुर प्रहरीले उद्धार गरेको छ ।






