असोजमा नेपाली कामदार जापानमा लैजाने
कठमाण्डौ – जापान रोजगारीका लागि भाषा परीक्षा आउँदो असोजमा सञ्चालन हुने बताइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका रोजगारी खुलाएका १४ क्षेत्र मध्ये पहिलो चरणमा केयरगिभर कामदार लैजाने जापानको तयारी छ । भाषा परीक्षापछि सीप परीक्षण गरिन्छ । भाषा परीक्षाका लागि जापान फाउन्डेसनले परीक्षा सञ्चालन गर्नेछ ।
मन्त्रालयका उपसचिव दीपक ढकालका अनुसार असोजमा परीक्षा सञ्चालन गर्ने तयारी भएको छ । ‘जापान रोजगारीका लागि पहिलो चरणमा केयर गिभर (नर्सिङ केयर) मा कामदार लैजानेछ’, उनले भने ।
सीप र भाषाको परीक्षा जापान सरकारले तोकेका संस्थाले लिनेछन् । जापानले रोजगारीको अवसर खुलाएका देशका नागरिकका लागि तोकिएको सीपमा जापानमा पनि परीक्षा सञ्चालन गरी कामदार आपूर्ति भइरहेको छ ।
नर्सिङ केयरका लागि अरु योग्यता र तालिमको प्रमाणपत्र अनिवार्य गरिएको छैन । नर्सिङ केयर क्षेत्रमा रुचि भएका तथा भाषामा निपुर्ण भएका जोकोही जापान जान पाउनेछन् ।
नर्सिङ केयरका लागि परीक्षा सञ्चालन प्रक्रिया सुरु भए पनि कति कामदार लैजाने भन्ने यकिन भइसकेको छैन । जापानमा वृद्ध जनसंख्या बढ्दै गएकाले जापानले पहिलो चरणमा उनीहरूको हेरचाहलाई लक्ष्य गरेर नर्सिङ केयरमा कामदार लैजान लागेको हो ।






