बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ३० पुग्यो, १८ जना बेपत्ता
काठमाडौं – बिहिबार देखिको अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।
बाढीपहिरोमा परी ललितपुरमा सबैभन्दा धेरै ५ जनाको मृत्यु भएको छ । काठमाडौं, खोटाङ र काभ्रेमा ३/३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २/२ जना तथा पाँचथर, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १/१ जना गरी ३० जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।
मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १/१ जना गरी १२ जना घाइते भएका हुन् ।
सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, ललितपुर पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, पर्सा धादिङमा १/१ जना गरी १८ जना वेपत्ता भएका छन् । यस्तै १६५ जनालाई उद्धार गरिएको गृहले जनाएको छ ।






