तिन नम्बर प्रदेश सरकारले बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई एक लाख दिने घोषणा
हेटौंडा – तिन नम्बर प्रदेशको सरकारले बिहिबार राति देखि परेको अविरल वर्षामा बाढी पहिरोका कारण मृत्यु भएको परिवारलाइ एक लाख रुपैयाँका दरले राहत रकम दिने घोषणा गरिएको छ ।
शनिबार बसेको प्रदेश ३ को विपद् व्यवस्थापन निर्देशक समितिको वैठकले बाढी पहिरोका कारण मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँका दरले राहत रकम दिने घोषणा गरेको हो ।
समितिका अध्यक्ष समेत रहनुभएका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले राहत रकम दिने घोषणा गरेको हो । घाइतेहरुको उपचारमा बिलका आधारमा बढीमा २५ हजार रुपैयाँ सम्म उपलब्ध गराउने बताएको छ ।
बाढी पहिरोमा परि घाईते भएकाहरुलाइ प्रदेश सरकारको मातहत रहेका अस्पतालमा निशुल्क उपचार गर्ने र त्यस भन्दा बाहेकका अस्पतालमा उपचार गराएमा जनही २५ हजार रुपैयाँ रकम राहत रकम उपलब्ध गराइने मुख्यमन्त्री पौडेलले बताउनु भयो ।
त्यस्तै, प्रदेश ३ का आन्तिरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले बाढी पहिरोको पीडामा परेकाहरुलाई थोरै भने पनि राहत उपलब्ध गराउने उदेश्यले रकमको घोषणा गरिएको बताउनुभयो । तिन नम्बर प्रदेशको १३ जिल्लामा हाल सम्म बाढी पहिरोका कारण ११ जनाको मृत्यु भइसकेको छ ।






