हेटौँडा उपमहानगरको १५ विद्यालयले सिकाई अनुदान प्राप्त हुने
साउन २, हेटौँडा – हेटौँडा उपमहानगरपालिकाको १५ विद्यालयले शिक्षक सिकाई सहयोग अनुदान प्राप्त गर्ने भएको छ । ति विद्यालयले शैक्षिक सत्र २०७६ का लागि शिक्षक व्यवस्थापन गर्न अनुदान प्राप्त गर्ने भएका हुन् । उपमहानगरका ९ आधारभुत र ६ माध्यमिक विद्यालयले अनुदान प्राप्त गर्ने हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका उपसचिव पूर्णबहादुर अछामीले जनाए ।
माविलाई ३ लाख ६६ हजार रुपैँया र आधारभुत तहका विद्यालयहरुलाई २ लाख ८२ हजार रुपैँयाका दरले अनुदान प्रदान गर्ने नगर शिक्षा समितिले निर्णय गरेको छ । अनुदान प्राप्त गर्ने उपमहानगरका विद्यालयमा विश्वज्योति आधारभुत विद्यालय हेटौँडा–१५, वनदेवि आधारभुत विद्यालय हेटौँडा–१४, सु–प्रभात आधारभुत विद्यालय हेटौँडा–१४, कालिका आधारभुत विद्यालय हेटौँडा–१३, कमला आधारभुत विद्यालय हेटौँडा–१८, लक्ष्मी आधारभुत विद्यालय, हेटौंडा–१७, शंकर ज्योति आधारभुत विद्यालय हेटौँडा–११, पशुपति आधारभुत विद्यालय हेटौँडा–१२ र त्रिवेणी आधारभुत विद्यालय हेटौँडा–९ रहेका छन् ।
त्यस्तै, मावितर्फ अमर मावि हेटौँडा–१, भृकुटी मावि हेटौँडा–१२, अरनिको मावि हेटौँडा–१९, बाल उज्जवल मावि हेटौँडा–३, गोरक्षनाथ मावि हेटौँडा–१८ र राजदेवी मावि हेटौँडा–१७ रहेका छन् । शिक्षण सिकाई सहयोग अनुदान बापत गणित/विज्ञान/अंग्रेजी विषयको शिक्षक नियुक्ति प्रक्रिया शिक्षा नियमावली २०५९ (संशोधनसहित) को नियम ९६ (क), ९७ बमोजिम हुने जनाउँदै महाशाखाले नियुक्त भएका शिक्षकलाई मावि तहतर्फ मासिक ३० हजार ५ सय रुपैंया र आधारभुततर्फ २३ हजार ५ सय रुपैँया उपलव्ध गराउन भनिएको छ ।






