परीक्षाको पूर्वसन्ध्यामा लोकसेवा आयोगमा प्रदर्शन
साउन २, काठमाडौं – स्थानीय तहमा लोकसेवाले गरेको विज्ञापनमा समावेशी र समानुपातिक नभएको भन्दै लोक सेवा आयोगको केन्द्रीय कार्यालय अगाडि बिहीबार प्रदर्शन भएको छ ।
आयोगले गत असारमा गरेको विज्ञापनको परीक्षा सुरु हुन १ दिनअगाडि त्यसको खारेजी माग गर्दै विभिन्न संघ-संगठनहरूले अनामनगरस्थित आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
‘आरक्षण बचाउ आन्दोलन’ले गरिएको प्रदर्शनका कारण आयोग अगाडिको सडकमा केहीबेर तनावको स्थिति सिर्जना भएको थियो । प्रदर्शनकारीले सडक छेकेर प्रदर्शन गरेकाले केहीबेर सवारी आवागमनसमेत प्रभावित भएको थियो ।
प्रदर्शनले तनावको अवस्था सिर्जना भएपछि प्रहरीले हस्तक्षेप गरेर प्रदर्शनकारीलाई हटाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा लोकसेवा आयोगले गत असारमा स्थानीय तहका विभिन्न पदमा ९१३१ कर्मचारी माग गरेको थियो ।
लोकसेवाको खुला विज्ञापन सँगै आदिवासी जनजाति महासंघ लगायतका विभिन्न संघ–संगठनहरू रुष्ट छन् । अहिलेको विज्ञापन खारेज गर्दै समावेशी, समानुपातिक सिद्धान्तका आधारमा पुन: विज्ञापन गर्नुपर्ने माग उनीहरूको छ । यही माग राखेर उनीहरू चरणवद्ध आन्दोलन गर्दै आएका छन् ।






