किशोरीलाई बन्धक बनाएर राख्ने, भारतीय नागरिक पक्राउ
साउन ४, काठमाडौ – किशोरीलाई बन्धक बनाएर राखेको आरोपमा एक भारतीय नागरिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ कुलेश्वर बस्ने भारत मोतीहारी घर भएका २३ वर्षीय प्रदीप कुमारलाई बन्धक बनाएको स्थानबाटै प्रहरीले पक्राउ गरेको हो ।
भक्तपुर सूर्यविनायक बस्ने रौतहटकी १७ वर्षीया किशोरीलाई प्रदीपले शुक्रबार दिउँसो ललाइफकाई, धम्क्याई जबर्जस्ती कुलेश्वरस्थित आफ्नो कोठामा ल्याई बन्धक बनाएको प्रहरीले जनाएको छ ।
बन्धक बनाएको सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा टेकु तथा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले किशोरीलाई उद्धार गरी प्रदीपलाई पक्राउ गरेको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको महाशाखाका प्रमुख सहकुल थापाले बताउनुभयो ।






