पदमपोखरीमा चोरको त्रासमा स्थानीयबासी

तामसालिङ खबर
८ श्रावण २०७६, बुधबार १५:१९

साउन ८, हेटौडा – मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ र १३ पदमपोखरी क्षेत्रमा चोरीको त्रास बढेको छ । पदमपोखरीका विभिन्न स्थानमा दिन दहाडै चोरीको प्रयास भएका घटनाहरु सार्वजनिक भएपछि त्रास बढेको हो । हेटौँडा १२ पान्तलेका साथै पदमपोखरीका विभिन्न स्थानमा गएका केही महिना यता केही युवा जमातले चोरी गर्न थालेको बताइएको छ ।

यसैबिच हेटौँडा १२ मा अवस्थित गुम्बा नजिकै घर भएका सुवर्ण लामा थोकरको घरमा पनि चोरीको प्रयास भएको छ । गएको सोमबार राति करिब ९ बजेको समयमा समूहमा आएका युवामध्ये एक युवकले हतियार देखाउँदै गहना लुट्ने प्रयास गरेको उनले बताए । घरमा एक्लै भएकी आफ्नी श्रीमतीलाई खुकुरी तेर्साउँदै गरगहना लुट्न खोजेका लुटेराहरु स्थानीयले हल्लाखल्ला गरेपछि फरार भएको थोकरले बताए ।

मुहारमा मास्क लगाएर आएका उनीहरुको पहिचान भएको छैन । थोकरकी श्रीमतीका अनुसार केही समूहमा आएका जस्तो लागे पनि एक युवकले हतियार तेर्साएर गरगहना मागेका थिए । अन्दाजी साढे ५ ईञ्चका लामो कपाल भएका युवकले लुट्ने प्रयास गरेका हुन् । मकै घारी हुँदै आएका युवकले चोरीको प्रयास गरेका हुन् । तर स्थानीय आएपछि भने उनी फरार भएका थिए ।

थोकरकै घरमा करिब ८ महिना अघि ८ महिनाको २ वटा खसी समेत चोरी भएको बताएका छन् । गाउँमा केही संस्कास्पद र विभिन्न लागुऔँषध सेवन गर्ने युवाहरु देखापरेपछि सुरक्षा चिन्ता थपिएको थोकरले बताए । गाउँमा प्रहरीले सुरक्षा बढाउन र रात्री गस्ती बढाउनुपर्ने भन्दै उनले सम्बन्धित निकायसँग सहयोगको लागि समेत आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*