महिला फुटबल खेलाडीलाई खेलकुद मन्त्रालयको सम्मान
साउन ८, काठमाण्डौ – साफ उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोली बुधबार सम्मानित भएको छ । युवा तथा खेलकुद मन्त्रालयले पाँचौं महिला साफ च्याम्पीयनसिप सकिएको पाँच महिनापछि महिला टोलीलाई जनही ३२ हजार पाँच सय रुपैयाँ सहित सम्मान गरेको होे ।
खेलकुद मन्त्रालयको सम्मान सँगै महिला टोली ३ पटक सम्मानित भएको छ । मंगलबार प्रदेश १ सरकारको तर्फबाट सम्मान पाएको महिला टोलीलाई बुधबार युवा तथा खेलकुद मन्त्रालयले सम्मान गरेको हो । सोमबार मात्र विराटनगर महानगरपालिकाले खेलाडीलाई सम्मान गरेको थियो ।
विराटनगर स्थित सहिद रंगशालामा गत चैतमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । मन्त्रालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा सुनारले खेलाडीलाई नगद सहित सम्मान गरेका हुन् ।
उपविजेता लगत्तै राष्ट्रिय खेलकुद परिषदले मन्त्रालयलाई १ लाख सहित सम्मान गर्न सिफारिस गरेपनि मन्त्रालयले ३२ हजार रुपैयाँमात्र दिएको छ । घरेलु मैदानमा कीर्तिमान बनाउने लक्ष्य रहेपनि फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । उपविजेता टोलीलाई विराटनगर महानगरपालिकाले ५० हजार र प्रदेश १ सरकारले १ लाख रुपैयाँबाट सम्मान गर्ने घोषणा गरेको थियो ।






