सर्लाहीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु, पाँच घाईते
साउन १९, सर्लाही – सर्लाहीमा छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि एक किशोरीको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन । नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत कविलासी नगरपालिका – ७ सिर्सियामा बोलबमका तिर्थालु सवार ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा चक्रघट्टा गाउँपालिका-६, बस्ने हृदय दासकी १७ वर्षीया छोरी रामशिलाकुमारी दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराती मध्यरातमा नवलपुरबाट मलङ्गवातर्फ जाँदै गरेको बीआर ३० भी ७१८७ नम्वरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको नम्वर नखुलेको ट्याक्टर ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाईते भएको रामशिलालाई जिल्ला अस्पताल मलङ्गवामा सामान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो ।
त्यस्तै, सर्लाहीको बरहथवा नगरपालिका – ३, भवानीपुरमा मोटरसाइकलले साइकललाई ठक्कर दिएर पल्टिँदा तीन जना घाईते भएका छन् । मानपुरबाट बरहथवातर्फ आउँदै गरेको बा १५ प ४५३८ नम्वरको मोटरसाइकल साइकललाई ठक्कर दिएर पल्टिँदा मोटरसाइकलमा सवार बरहथवा नगरपालिका–३, का ३० वर्षीय विगु महतो, साइकलमा सवार सोही ठाउँका ५० वर्षीय किशोर राय र साइकल पछाडि सवार किशोरका नाती १२ वर्षीय श्याम राय घाईते भएका हुन । घाईतेहरुको बरहथवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी नवलपुर–मलङ्गवा सडकखण्डस्थित कविलासी नगरपालिका–१०, पिडारी चोकमा नवलपुरबाट मलङ्गवातर्फ गइरहेको ना २ ह ४१५२ नम्वरको टेम्पुले विपरीत दिशाबाट आउँदै गरेको ना ६ त २०७ नम्वरको ट्याकटरलाई ठक्कर दिँदा दुई जना घाईते भएका छन् । दुर्घटनामा जिल्लाको चन्द्रनगर गाउँपालिका–६, कामद बस्ने ४० वर्षीया सावित्री देवी मुखिया र कामदकै गोनु मुखियाकी १२ वर्षीया छोरी पूजा मुखिया घाईते भएका प्रहरीले जनाएको छ । उनीहरुको जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको छ ।






