आज नागपञ्चमी, नागको पुजाअर्चना गरी मनाईदै

तामसालिङ खबर
२० श्रावण २०७६, सोमबार ०८:५७

साउन २०, काठमाडौं – श्रावण शुक्ल पञ्चमीका दिन आज नागपूजा गरी नागपञ्चमी मनाउने गरिने परम्परा रहेको छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको आजकै दिन पूजाआराधना गरिन्छ ।

नागपञ्चमीका दिन घरघरमा नागको तस्वीर टाँसी विधिपूर्वक पूजाआजा गरिँदैछ । नेपाली समाजमा नागलाई देवता मानेर सम्मान गरिनुका साथै कतिपय जलाशयमा नागपूजा गर्नेहरुको मेला समेत लाग्ने गर्दछ ।

आजका दिन सबै जसो नेपालीको घरमा नागको चित्र ढोकामाथि टाँसेर दुईतिर कपासको पिउरी सजाई नाग पूजा गरिन्छ । घरमा नाग पूजा गर्दा दूधदही, अक्षता, दुबो, लावा फलफूल चढाई दूध वा खीरको नैवेद्य लगाउने चलन छ । यसरी नागको पूजा गर्नाले घरमा चट्याङ वज्रपात नपर्ने, अग्निभय, सर्पदंसको डर नहुने र शरीरमा रोगव्याधि नलाग्ने धार्मिक मान्यता रहेको छ ।

नागपूजा गरेपछि नागपञ्चमीका दिन खेतबारीमा खनजोत गर्नु हुँदैन भन्ने गरिन्छ । खनजोत गरेमा जमिनमुनि बसेका नाग काटिनसक्ने र त्यसो भएमा पाप लाग्ने बताइन्छ । नागको नेपाली समाजमा नागपञ्चमीदेखि हिउँदे प्रभाव देखिने र श्रीपञ्चमीदेखि वर्षे याम सुरु हुने मानिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*