वरीयतामा विश्व चर्चित क्रिकेटरहरुलाई पछि पार्दै पारस खड्का
साउन २२, काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा घोषित पछिल्लो वरीयतामा ठूलो फड्को मारेको छ । आईसीसीद्वारा घोषित टीट्वन्टी खेलाडीको अलराउन्डर वरीयतामा पारस २५ औं स्थानमा उक्लिएका हुन् । यसअघिको टीट्वेन्टी अलराउन्डर वरीयतामा पारस ३९ औं स्थानमा थिए ।
वरीयतामा पारस विश्व क्रिकेटका थुप्रै स्थापित नामहरुभन्दा अगाडि छन् । उनी न्युजिल्यान्डका चर्चित खेलाडी कोलिन डी ग्रान्डहोम, इङ्ल्यान्डका डेभिड विली, जोए रुट, बेन स्टोक्स र मोइन अली, पाकिस्तानका इमाद वसिम, श्रीलंकाका इसुरु उडना, दक्षिण अफ्रिकाका क्रिस मोरिस, भारतका रोहित शर्मा, वेस्ट इन्डिजका क्रिस गेल जस्ता खेलाडीभन्दा अगाडि छन् ।
त्यस्तै, टीट्वेन्टी ब्याटिङ वरीयतामा पारस ६६ औं स्थानमा उक्लिएका छन् । टीट्वेन्टी ब्याटिङ वरीयतामा भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी पारसभन्दा एक स्थान पछाडि छन् । ब्याटिङ वरीयतामा पारसभन्दा पछाडि रहेका अन्य चर्चित नाम वेस्ट इन्डिजका क्रिस गेल, भारतका सुरेश रैना, श्रीलंकाका कुशल मेन्डिस, पाकिस्तानका अहमद सेहजाद, जिम्बाबेका ब्रेन्डन टेलर, न्युजिल्यान्डका कोरी एन्डर्सन हुन्। टीट्वेन्टी ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर आजम पहिलो र न्युजिल्यान्डका कोलिन मुनरो दोस्रो स्थानमा छन्।
टीट्वेन्टी बलिङ वरीयतामा नेपालका अनुभवी बलर वसन्त रेग्मी ७१औं र सोमपाल कामी ७८औं स्थानमा छन्। टीट्वेन्टी बलिङ वरीयतामा अफगानिस्तानका रसिद खान पहिलो, पाकिस्तानका इमाद वसिम दोस्रो र सदाब खान तेस्रो, इङ्ल्यान्डका अदिल रसिद चौथो र अस्ट्रेलियका एडम जाम्पा पाँचौं स्थानमा रहेका छन्। टीट्वेन्टी टिम वरीयतामा भने नेपाली टोली ११औं स्थानमा छ।






