शालिकराम मृत्यु प्रकरण – चितवनमा प्रदर्शनकारी र प्रहरीबीच झडप

तामसालिङ खबर
८ भाद्र २०७६, आईतवार २२:२९

भदौ ८, चितवन – चितवनको भरतपुरमा आइतबार साँझ प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपमा परी प्रहरी नायब उपरीक्षक (डिएसपी) एक नारायण कोइराला सहित सात प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आइतबार साँझपख चौबिसकोठी क्षेत्रमा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि झडप भएको कोइरालाले बताए । उनले आफू अस्पतालमा उपचारका क्रममा रहेकाले के कति क्षति भयो भन्नेबारे जानकारी नभएको बताए ।

झडपका क्रममा प्रहरीले आधा दर्जन बढी अश्रुग्याससमेत प्रहार गरेको थियो । झडप भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । प्रदर्शनकारीले सडकमा टायर बाल्नुका साथै केही गाडीमा तोडफोड पनि गरेका छन्।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पुछिएका टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पुनः हिरासत फर्काएपछि प्रदर्शनकारी आक्रोशित बनेका हुन् । आइतबार बयान नसकिएपछि उनीहरू तीनैजनालाई प्रहरी हिरासतमै लगेको थियो।

जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार आइतबार पुडासैनीकी प्रेमिका भनिएकी अस्मिता कार्की बयान सकिएको र बाँकी रहेका रवि र युवराज बयान भोलि बिहान १० बजेपछि लिइनेछ। आइतबार अस्मिताको अदातलका मुख्य न्यायाधीश हेमन्त रावलको इजलासमा लिखित बयान लिइएको थियो ।

बयान नसिएकाले उनीहरूलाई आइतबार प्रहरी हिरासतमा नै राखिने छ । सरकारी वकिलको कार्यालयले आत्महत्या दुरुत्साहनसम्बन्धी अभियोगपत्र आइतबार चितवन जिल्ला अदातलमा दर्ता गराएपछि बयान लिन सुरु भएको थियो।

एउटै इजलासमा पालैपालो बयान लिइने भएकाले बयान लम्बिएको हो। बयान सकिएपछि भोलि बहस हुनेछ। बहसपछि मात्रै रिहा गर्ने वा कारागार चलान गर्ने आदेश अदालतले दिनेछ।

भिडियो हेर्नुहोस –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*