रवि लामिछाने ५ लाख धरौटीमा रिहा
भदौ ९, चितवन – टेलिभिजन प्रस्तोता रवि लामिछाने पाँच लाख धरौटीमा रिहा भएका छन् । उनलाई चितवन जिल्ला अदालतका न्यायधीश हेमन्त रावलको इजलासले धरौटीमा रिहा गरेको हो ।
त्यस्तै, पत्रकार युवराज कँडेल तीन लाख धराैटीमा रिहा भएका छन् भने अस्मिता कार्की साधारण तारेखमा रिहा भएकी छन् । रवि र युवराजले धरौटीमा बसेर मुद्दाको पुर्पक्ष गर्नेछन् । उनीहरुविरुद्ध पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोग सहित अघिल्लो साता मुद्दा दायर गरेको थियो ।
उनीहरुको रिहा लगत्तै रवि लामिछानेका शुभेच्छुक र आफन्तले खुशीयाली मनाएका छन् । लामिछाने लगायत अभियुक्तविरुद्धको मुद्दा पूर्वाग्रहपूर्ण र प्रतिशोधका आधारमा दर्ता भएको दाबी गर्दै २३ कानुन व्यवसायीले दिनभर बहस गरेका थिए ।






