रवि लामिछानेको विषयमा उच्च अदालत हेटौँडा इजलासले कारण देखाऊ आदेश
भदौ १८, हेटौडा – सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले मंगलबार दिएको निवेदन उपर उच्च अदालत पाटन, हेटौंडा इजलासले आज कारण देखाऊ आदेश जारी गरेको छ ।
गत भाद्र ९ गते चितवन जिल्ला अदालतले गरेको आदेश बदरका लागि निवेदनमा उच्च अदालत पाटन, हेटौंडा इजलाशमा भएको बहस तथा पैरवी पछि उच्च अदालत पाटन, हेटौंडाको १ नम्बर न्यायधीश टेकराज नेपालले कारण देखाऊ आदेश जारी गरेका छन् ।
आज जारी उच्च अदालत आदेशमा सो आत्महत्याको विषयमा कुनैपनि सञ्चारमाध्यममा प्रकाशन, प्रसारण वा अभिव्यक्ति दिन किन नमिल्ने, विदेश भ्रमण जानु पर्दा अनिवार्य अनुमति किन लिनु पर्ने र मुलुकी फौजदारी संहिता दफा ६८ बमोजिम प्रतिवादी बनाइएका लामिछाने र कँडेलबाट मुद्दा पुर्पक्षका लागि माग गरिएको धरौटी रकमको समेत स्पष्ट कारण र आधारको विषयमा प्रतिवेदन पेश गर्न जिल्ला अदालत चितवनलाई आदेश गरेको छ ।
उच्च अदालतले जिल्ला अदालत, चितवनमा रहेको शुरु प्रमाण मिसिल तथा सरकारी वकिलको कार्यालयलाई समेतलाई जानकारी दिई प्रस्तुत प्रतिवेदन पेश गर्न आदेश भएको लामिछाने र कँडेलको पक्षमा बहस गरिरहेका अधिवक्ता राजेन्द्र सेढाईले बताएका छन्।
करीब २ साता भित्र प्रतिवेदन पेश हुने, सो पछि मुद्दाको विषयमा सुनुवाई हुने बताईएको छ । प्रतिवेदन पछिको लामिछाने र कँडेलको पक्षमा बरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ताहरु सुनिलकुमार पोखरेल, राजेन्द्र सेढाई र अमृतकुमार लामा समेतले बहस गर्ने बताईएको छ ।
गत भाद्र ९ गतेको चितवन जिल्ला अदालतको आदेश बेरितको रहेको भनी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम चितवन जिल्ला अदालतको सो आदेश बदर गरि साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरि पाऊँ भनी सञ्चारकर्मी लामिछाने र कँडेलले हिजो निवेदन दर्ता गराएका थिए । News24nepal






