सिंगापुरबाट प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै
भदौ २०, काठमाडौं – प्रधानमन्त्री केपी ओली आज स्वदेश फर्किंदै छन् । सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलाको फलोअप उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते त्यसतर्फ गएका थिए ।
ओलीको सिंगापुरमा ‘प्लाज्माफेरिसस’ को उपचार विधिबाट मिर्गौलाको उपचार गरिएको थियो । दिन बिराएर गर्नुपर्ने प्लाज्माफेरेसिस उपचार विधि बुधबार सकिएको छ । प्रधानमन्त्रीको स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएकाले उनी स्वदेश फर्किन लागेका हुन् ।
‘प्रधानमन्त्री ओली शुक्रबार मध्याह्न साढे १२ बजे स्वदेश फर्किंदै हुनुहुन्छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले भने । प्रधानमन्त्रीसँगै नेकपाका सचिवालय सदस्य वामदेव गौतम, महासचिव विष्णु पौडेललगायत प्रधानमन्त्रीलाई भेट्न पुगेका नेताहरू पनि स्वदेश फर्किंदै छन् ।






