नागरिकता प्रमाण-पत्र फिर्ता लेऊ – २
सरकार !
हिजोआज- तिम्रो मुहार देख्दा
यस्तो लाग्छ-
सेमजोङे राजा दगुर वाइबाको
हत्यारा तिमी नै थियौ/हौ
तिम्रो गीत सुन्दा, लाग्छ-
हाम्रा चेलीबेटीलाई केटीस्या बनाएर
यौनलम्पट भई छिल्लिरहेका छौ ।।
तैपनि, अन्तिम पटक बिन्ति चढाउँदैछु-
झूठो प्रचारबाजी गर्न छोड
हामीले जातीय हैन पहिचानको आधारमा
स्वायत्त ताम्सालिङ मागेका हौं ।
हैन हामीलाई हाम्रो पहिचान फिर्ता दिँदा
तिम्रो कुल बिग्रिन्छ/रिसाउँछ भने-
ठिकै छ; तिम्ले थमाएको
नागरिकता प्रमाण-पत्र फिर्ता लेऊ ।।
सन्धिका नाममा कपटपूर्ण तरिकाले
हाम्रा पूर्खाका शीर गिँडेका हातहरू तिम्रै बाजेका थिए
हाम्रा अस्मिता पिएर अमर हुने तिम्रै पूर्खा थिए
फेरि पनि हिजाआज,
बानेश्वर वरिपरि तरबार र ढाल प्रदर्शन गर्दै तिम्ले पनि
हत्यारा पृथ्वीनारायण शाहको भूत बनेर
‘दगूर वाइबा, गोक्यूदोर्जे र रेञ्जेनदोर्जेलाई जसरी
रेट्छौं भन्ने सन्देश छर्न/गाउँ टोललाई थर्कमान पार्न
खटाएका रहेछौ; केही भुस्याहाहरूलाई !
अब त समय धेरै घट्किसकेको छ-
मुश्किलले केही दिन मात्रै सम्भव होला कि-
आऊ; अटाऔं-
ताम्सालिङमा स्वागत छ तिमीलाई !
हैन, आउँदैनौ भने-
ठिकै छ; तिम्ले थमाएको
नागरिकता प्रमाण-पत्र फिर्ता लेऊ ।।
गाईलाई तिम्ले ‘आमा’ भन्दैमा
गोरुलाई तिम्रो बाउ हो भन्नु छैन ।
तिम्रो जस्तै कुल हाम्रो पनि छ
तिमी गाईलाई पूजा गर्छौ । गर ।
हाम्रो कुललाई हामी गोरु बलि चढाउँछौं
बिन्ति यत्ति मात्रै हो कि-
हामीले कुल धान्दाखेरि
मेरो बाउ मारेछन् भन्दै समात्न नआऊ
होइन, तिम्रै बाउ/आमा नै काटेसरि मान्छौ भने
सल्लाहले नै भन्छु-
ठिकै छ; तिम्ले थमाएको
नागरिकता प्रमाण-पत्र फिर्ता लेऊ ।।
अढाई शताब्दी हुनै लाग्यो अब
आफ्नो कुल नमानेको/नधानेको
होस् भनेर छोडेर बसेका छौं ।
अब हामीलाई-
मान्छे मर्दा मेस्या खुवाउने संस्कार स्थापित गराउनु छ ।
विहेवारीको बेला-
मे ढाङ लानु पनि छँदैछ ।
गोरुकै बलि खाने घ्याङसिङलाई पनि मन्साउनै छ ।
गोरु बलि दिएरै कुल स्थापित गर्नु छ ।
तर,
तिम्रै मात्रै संस्कृति ठिक हो भने
तिम्रै मात्रै कुल मान्नुपर्ने हो भने-
हामीले कुल पूजा गर्दाखेरि/संस्कृति धान्दाखेरि
अराष्ट्रिय हुन्छौं भने-
ठिकै छ; तिम्ले थमाएको
नागरिकता प्रमाण-पत्र फिर्ता लेऊ ।।
अस्ति मात्रै एकजना बहिनी रुँदैथिन्
गौशाला प्रहरी चौकीमा-
महिला प्रहरीले-
सुम्लै-सुम्ला उठ्ने गरी कुटेकी थिई रे
अहिले पनि पानी पर्दा कटक्क दुखिरहन्छ रे ।
सरकार !
उत्तर देऊ-
के आफ्नो बाबालाई छोरीले
तामाङ भाषामा बोल्दैमा मान्छेखाने भाषा हुन्छ ?
हैन भने किन कुटिइन त मेरी बहिनी ??
सुनेँ-
दोस्रो संविधानसभाको चुनावमा तिम्ले
मतदाता परिचय-पत्र बाँडेका थियौ रे
तामाङ भेषमा बिजुली बजार पुगेको तामाङलाई
यस्तो ड्रेसमा हुँदैन भनेर फर्काएछन् ।
तिम्रै सि.डि.ओ.ले-
खदा त बुद्धिष्टको हो भन्दै
प्रचलनमा बन्देज लगाउँदै हिँडेका रहेछन् ।
त्यैभएर पो त बाध्य भएर सोध्दैछु-
मेरो पूर्खाले बस्ती बसाएको भूमि
कसरी तिम्रो हत्यारा पृथ्वीनारायण शाहले आर्जेको भयो हँ ?
सक्छौ आऊ; मिलेर बसम्ला
सक्तैनौ भने-
ठिकै छ; तिम्ले थमाएको
नागरिकता प्रमाण-पत्र फिर्ता लेऊ ।।
लच्याङ काण्ड बिर्सेका छैनौँ
खनियाबास त दुखिरहेकै छ ।
याबेङ खोला सुसाइरहेकै छ
रानीदह भूमरीमा घुमिरहेकै छ
तल्च्यूगढीमा तिम्ले जत्ति परेड खेले पनि
हाम्रा गोक्यू म्हेमेको सेतो घोडाको टाप
अझै पनि टपटपाउँदै छन् ।
त्यसैले-
मेरो घरमा आएर
मेरै घरको सदस्यता मैलाई दिने तिमी को हौ ?
मेरै किपट खोसेर आफ्ना नोकरलाई बिर्ता दिने तिमी को हौ ??
सह्यौँ । धेरै सहेयौँ ।
यदि तिम्रो दिलमा, तिम्रै हरी छ भने-
आऊ हिजोलाई बिर्सेर नयाँ साइनो जोडौं
होइन; नजोड्ने नै भए-
ठिकै छ; तिम्ले थमाएको
नागरिकता प्रमाण-पत्र फिर्ता लेऊ ।।






