आदिवासी जनजाति महासंघ नगर परिषदको अध्यक्षमा नरेशलाल श्रेष्ठ चयन
भदौ २२, हेटौडा – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) नगर समन्वय परिषद हेटौंडाको तेस्रो अधिबेशनले नरेशलाल श्रेष्ठको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
परिषदको उपाध्यक्षहरुमा राजाराम थापा मगर, रामकृष्ण राई दनुवार र सारङ्गी राई, सचिवमा आत्माराम मोक्तान, कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ्ग(तमू) र सह-सचिवहरुमा सविता भुजेल, प्रताप चेपाङ, शीला चौधरी र रेक्सोना कुमाल रहेका छन् ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) गाउँ समन्वय परिषद् निवुवाटारका अध्यक्ष नरहरि गरञ्जा मगर सम्मानित भएका छन् । तत्कालिन निवुवाटार गाबिसमा आदिवासी जनजातिलाई एकता र सशक्तीकरणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनलाई दोसल्ला ओडाई सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रम प्रदेश ३ का सांसद प्रेमबहादुर पुलामी मगरको प्रमुख आतिथ्य, प्रदेश सांसदहरु सन्तलाल चेपाङ र ओम घलान तथा नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) जिल्ला समन्वय परिषद मकवानपुरका अध्यक्ष तीर्थबहादुर थापा मगरको बिशेष आतिथ्यमा भएको थियो । नेफिन हेटौंडाका अध्यक्ष जंगबहादुर गुरुङको सभाध्यक्षतामा भएको कार्यक्रममा सचिव भीम भुजेलले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष नरेशलाल श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) मकवानपुरका पूर्व अध्यक्ष बुद्ध लामा, सल्लाहकार मधुकर सिं गलामी मगर, नेपाल मगर संघ मकवानपुरका अध्यक्ष होमबहादुर राना मगर, नेपाल कुमाल समाज सुधार समिति मकवानपुरका अध्यक्ष भैरवबहादुर कुमाल, हेटौंडा उपाध्यक्ष अमिता चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।






