७० करोडको लगानीमा हेटौंडामा कृषि थोक बजार बन्ने
भदौ २४, हेटौडा – कृषि उपजको बजारीकरणको समस्या समाधान गर्न तीन तहको सरकारको पहलमा करीब ७० करोड लागतमा हेटौंडामा देशकै ठूलो कृषि थोक बजार केन्द्र निर्माण हुने भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालका अनुसार देशभर सरकारले ५० करोड भन्दा माथिको लगानीमा नौ वटा कृषि थोक बजार केन्द्र निर्माण गर्दैछ ।
करीब ७० करोडको लागतमा निर्माण हुने आधुनिक कृषि थोक बजार केन्द्र निर्माण भएपछि नेपाली किसानको उत्पादनको बजारीकरण र प्रबर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ । केन्द्र सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सम्पन्न गरिसकेको कृषि थोक बजार केन्द्रको निर्माणमा प्रदेश ३ सरकार र हेटौँडा उपमहानगरपालिका समेत लागि परेका छन् ।
किसान महासघका केन्द्रीय सदस्य महानन्द सापकोटा बिचौलियाको समस्या समाधानका लागि सरकारको प्रत्यक्ष हस्तक्षेप सहितको तरकारी तथा कृषि उपज थोक बजार केन्द्र आवश्यक रहेको बताउनुहुन्छ ।
सरकारले सिँचाइ र दक्ष कृषि प्राविधिक परिचालन गरेर उत्पानदमा जोड दिनुको साथै उत्पादित कृषि उपजको उचित मूल्य आउनेगरी बजारीकरण गर्नुपर्ने उहाँको भनाइ छ । “किसानसँग रु १५ मा किनेर ५० मा बेच्ने हाल सञ्चालन भइरहेका जस्ता किसानमारा तरकारी थोक बजार केन्द्रको आवश्यकता छैन ” उहाँले भन्नुभयो ।
हेटौँडा उपमहानगरपालिका ११ स्थित बजार केन्द्र निर्माणस्थलको संघिय कृषि तथा पशुपक्षी विकासमन्त्री खनाल र प्रदेश ३ का कृषि मन्त्री दावादोर्जे लामा लगायत कृषि विज्ञको टोलीले केही दिनअघि अवलोकन समेत गरेको थियो । रासस






